रामहरि जोशीप्रति श्रद्धाञ्जली :- नेपाली कांग्रेस


असार ३०, २०७४
शोक विज्ञप्ति
 
नेपाली कांग्रेसका पुराना नेता, वि।सं। २००७ सालको क्रान्तिका साक्षी एवं पूर्व मन्त्री रामहरि जोशीको हिजो असार २९ गते राति ७ः३० बजे काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भयो । नेपाली कांग्रेसको स्थापनाकालदेखि नै नेपाली राजनीतिमा उहाँ निरन्तर संलग्न रहँदै आउनु भएको थियो । सात सालको क्रान्तिको समयमा प्रचार समितिमा रहेर स्वर्गीय जोशीले स्वदेश तथा विदेशमा प्रजातन्त्रका पक्षमा सम्पर्क स्थापित गर्नु भएको थियो । स्वर्गीय जोशी २०४८ सालमा सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । त्यसैगरी वि.सं. २०५१ र २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट उहाँ पार्टीको उम्मेदवार हुनुहुन्थ्यो ।
 
वि.सं. २०४८ मा उहाँ शिक्षा र पर्यटन मन्त्री हुनु भएको थियो । स्वर्गीय जोशी नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको पूर्व सम्पादक समेत हुनुहुन्थ्यो । प्रजातन्त्र स्थापना र पुर्नस्थापनाका क्रममा स्वर्गीय जोशीले लामो समयसम्म जेलजीवन व्यतित गर्नु भयो र प्रवासमा रहनु भएको थियो । वि।सं। १९८३ मा सर्लाहीमा जन्मनु भएका स्वर्गीय जोशी सादा र सरल जीवन पद्धतिमा विश्वास गर्नुहुन्थ्यो । नेपाली राजनीतिमा उहाँ गान्धीवादी र समाजवादी नेताका रुपमा चिरपरिचित हुनुहुन्थ्यो । स्वर्गीय जोशीको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ— “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व मन्त्री रामहरि जोशीको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व .जोशीले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । लामो त्याग र वलिदानबाट प्राप्त नेपालको संविधान कार्यान्वयनको चरणमा भएको उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 
 
उहाँको पार्थिव शरीरलाई आज विहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । 
 
नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय जोशीले पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
 
मुख्य सचिव
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top