ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्यूठानको वक्तव्य


ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्यूठान
अद्धैतमार्ग, बागबजार
काठमाडौँ

वक्तव्य

प्यूठान ओखरकोटको कोट ऐतिहासिक र पुरातात्विक महत्वको स्थान हो । त्यो कोटलाई करिब ४५० वर्ष पहिले परस घर्तीको नेतृत्वमा आएको सेनाले कब्जा गर्नुभन्दा पहिले त्यहाँजाट राजाको राज्य थियो । सम्भवतः उनीहरू मगर जातिका शासकहरू थिए ।

गाउँमा यो किंवदन्ति छ कि परश घर्तीले आक्रमण गरेपछि भाग्ने बेलामा जाट राजाले आफ्नो सबै सम्पत्ति गाडेर माथिबाट ढुङ्गा र काठले ढाकिदिएका थिए । त्यो स्थानको उत्खनन् गरेमा त्यो मध्यकालीन इतिहास वा मगर संस्कृतिबारे धेरै जानकारी प्राप्त हुन सक्दछ । त्यसप्रति मैले निर्वाचित गाउँ पालिका र सरकारको समेत ध्यान आकर्षित गर्न चाहन्छु । तर यहाँ मैले अर्को महत्वपूर्ण विषयप्रति सरकार र स्थानीय तह समेतको ध्यान आकर्षित गर्न चाहन्छु । 

ओखरकोटको कोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका कैयौँ सामाग्रीहरूको हिनामिना वा चोरी हुँदै गयो । तर जाट राजाका पालाको एउटा राजदण्ड एकाध वर्ष पहिलेसम्म विद्यमान थियो । तर त्यसको डिएन परीक्षण गरेमा जाट वा मगर राजाहरूको कालखण्डको समयबारे धेरै जानकारी प्राप्त हुन सक्दछ ।

कोटका सबै सामग्रीहरू दशैमा कोटमा लगिन्छ भने अन्य बेलामा पूजारीको घरमा राख्ने गरिन्थ्यो । उनको घरबाट नै करिब २ वर्ष पहिले त्यो राजदण्डको चोरी भयो । त्यो घटनापछि त्यसबारे छानवीन गर्न प्यूठानको सीडीओ र प्रहरी समेत ओखरकोटको मछीमा पुगेका थिए । राजदण्डको चोरीको छानवीन गर्न सरकारी टोली आएको थाहा पाएपछि पूजारीले आफ्नो घरमा नै आत्महत्या गरे । त्यसपछि प्रहरी आत्महत्याको छानवीन गर्ने काममा लागे र राजदण्डको चोरीबारे छानवीन गर्ने काम त्यो बेला रपछि पनि भएन । त्यो राजदण्डको चोरीको छानवीन र खोजवीन गर्न मैले त्यो वेला पनि प्यूठानका सिडिओलाई अनुरोध गरेकी थिएँ । तर अहिलेसम्म त्यसबारे कुनै कारवाही अगाडि बढाइएको छैन ।

ओखरकोटमा परशु घर्तीका सन्तानहरू, जीसीहरू, बस्न थालेको करिब ४५० वर्ष भयो । उनीहरू त्यहाँ बस्न थालेको १७ पुस्ता पुग्यो । एक पुस्ताको २५ वर्षको हिसाबले गणना गर्दा त्यो समय करिब ४५० वर्ष नै हुन्छ । त्यसबाट प्रष्ट हुन्छ, जाट राजाको पालाको त्यो राजदण्ड ४५० वर्षभन्दा धेरै पहिलेको थियो । त्यसकारण त्यो राजदण्डले ठूलो ऐतिहासिक महत्व राख्दछ । त्यसकारण त्यसको चोरीको मुद्दाबारे छानवीन गर्न र त्यसलाई पत्ता लगाउन मैले स्थानीय झिम्रुक गाउँपालिका, पुरातात्विक विभाग र सरकारसित समेत अपील गर्न चाहन्छु । 

मिति : २०७४ असार २७ गते

दुर्गा पौडेल
अध्यक्ष,
ओखरकोट पर्यटन एवं ग्रामीण विकास समिति प्यूठान

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top