स्थानीय तहको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक समीक्षा : प्रेस विज्ञप्ति


राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प)

स्थानीय तहको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक समीक्षा : प्रेस विज्ञप्ति

मुलुकमा नंया संविधान जारीपश्चात बैशाख ३१, २०७४ मा प्रदेश न. ३,४ र ६ मा सम्पन्न प्रथम चरणको स्थानीय तहको निर्वाचन मतदाताहरुको उल्लासपूर्ण सहभागितामा सम्पन्न भएको छ । विभिन्न अवरोध र छोटो समयमा ब्यवस्थापन गर्नुपर्ने बाध्यताका बावजुत निर्वाचन आयोगले सफलतापूर्वक यो पहिलो चरणको निर्वाचन सम्पन्न गरेको पाइयो । यसवाट आम मतदाताले आफ्नो अभिमत प्रयोग गरेर जनप्रतिनिधिहरुको छनौट गर्ने अवसर पाएका छन् । यसैगरी राजनीतिक दल तथा उमेद्वारहरुले पनि सक्र्रियताका साथ सहभागीता जनाएका छन् । यस सन्दर्भमा, सम्पूर्ण निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र, पारदर्शी एवम् विश्वसनीय बनाउन स्वतन्त्र नागरिक समाजको पहलमा गठित निर्वाचन पर्यवेक्षक संस्थाहरु राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) द्वारा संयोजन र समन्वयमा निर्वाचन पर्यवेक्षण कार्य सम्पन्न गरिएको तथ्य यस प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गराउन चाहन्छौं । 

निर्वाचन पर्यवेक्षणको सहकार्यमा संलग्न उल्लेखित तीनवटै संस्थाहरुले निर्वाचन–पूर्व, मतदानको अवधि तथा निर्वाचन पश्चात्को मतगणनाको प्रारम्भिक चरणको पर्यवेक्षणको समीक्षात्मक झलक निम्न बमोजिम प्रस्तुत गरिएको छ । 

१.निर्वाचन–पूर्वको अवस्था :-
* निर्वाचन आयोगद्वारा निर्वाचनको तयारीको आवश्यक व्यवस्थापन जस्तैः मतदाता नामावली, कर्मचारी व्यवस्थापन, दल दर्ता, आचारसंहिता, मतपत्र छपाई लगायत अन्य व्यवस्थापन समग्रमा सन्तोषजनक रहेको छ । तथापि, मतदाता नामावली तयारी, आचारसहिंता परिपालनाको अनुगमन, मतदाता परिचयपत्र वितरण जस्ता विषयमा केही त्रुटिहरु फेला परेका छन् । 

* समय अभाव तथा व्यवस्थापनको कमजोरीका कारण यसपटकको निर्वाचन शिक्षा अपेक्षाकृत प्रभावकारी हुन नसक्दा कतिपय मतदाताहरुमा कहां र कसरी मतदान गर्नेमा अन्यौलता रहेको पाइयो । 

* एकातर्फ निर्वाचन भड्किलो एवम खर्चिलो बन्दै गएको परिवेशमा महिला उम्मेदवारहरु स्वस्थ प्रतिस्पर्धामा उत्रन अनेक कठिनाईहरु झेल्नुपरेको पाइयो भने अर्कोतर्फ कतिपय मतदानस्थल अपायक स्थानमा रहंदा गर्भवती, सुत्केरी, बिरामी एवम् अपांगतामा रहेका महिलाहरुलाई मतदानमा कठिनाई देखियो । 

२. मौन अवधिको पालना :-
* आयोगद्वारा तोकिएको ४८ घण्टे मौन अवधिको प्रतिस्पर्धी दल, उम्मेदवार एवम् सम्बन्धित पक्षबाट सामन्यतया परिपालना भएको पाइएता पनि कतिपय उम्मेद्वारहरुद्वारा मतदाताहरुलाई मौन अवधिको समयमा समेत मतदाता आकर्षित गर्ने विविध प्रयासहरु भएका तथा सामाजिक सञ्जाल समेत पूर्णतया अनुशासित बन्न नसकेको अवस्थामा आयोगको अनुगमन पक्ष समेत कमजोर देखियो । 

३.मतदानको अवधि :-
* मतदानको दिन आवश्यक सामग्रीको प्रबन्ध सामान्यतया प्रभावकारी रह्यो । मतदानको दिनभन्दा अगावै सम्पूर्ण सामग्री सबै मतदान स्थलमा सुरक्षित रुपमा पुर्याइ भण्डारण एवम् सुरक्षण गरेको पाइयो । यद्यपि केही मतदान स्थलमा राखिएका संवेदनशिल सामग्री लुटपाट एवम तोडफोड भएको पाइयो । 

* सामान्यतया मतदाताहरुको पंक्ति व्यवस्थित पाइयो । महिला तथा पुरुष मतदाताको लागि अलग—अलग  पंक्ति कायम गरिएको थियो भने विशेष आवश्यकता भएका मतदाताको हकमा प्राथमिकता प्रदान गरी मतदान सहज बनाइएको थियो । तथापि, कतिपय मतदान केन्द्रहरु अपांगता—मैत्री नहुंदा पहुंच र पायकको दृष्टिकोणले कठिनाई उत्पन्न भएको पाइयो । 

* मतदान केन्द्रहरुमा आवश्यक कर्मचारी एवम् स्वयम्सेवकहरुको व्यवस्था सन्तोषजनक देखियो । तथापि, पर्याप्त तालिम तथा निर्देशनमा एकरुपताको अभावका कारण कुनैकुनै केन्द्रहरुमा अलमल एवम् असामञ्जस्यता भएको पाइयो ।

* अधिकांश मतदान केन्द्रहरु निर्धारित समयमै खुली मतदान प्रकृया शुरु भएता पनि केही स्थानमा एक घण्टा पछि मात्र मतदान प्रारम्भ भएको पाइयो । यसैगरी केही मतदान केन्द्रहरु मतदानकै क्रममा विवादका कारण केही समयका लागि बन्द भएका पाइयो । 

* अधिकांश मतदान केन्द्रहरु निर्धारित समयमानै बन्द गरी समापन प्रकृया सम्पन्न गरिएको थियो । तथापि, विविध कारणबश कतिपय मतदान केन्द्रहरु विलम्ब गरी बन्द भएता पनि ५ बजे भित्र पंक्तिमा रहेका मतदातालाई भने मतदान गर्न दिइएको थियो ।   

४. सुरक्षा व्यवस्था :-
* विगतका निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा समेत तीन घेरामा सुरक्षा संयन्त्र तैनाथ गरिंदा आम मतदातामा सुरक्षाको सकारात्मक अनुभूती रहेको पाइयो । सुरक्षाको प्रभावकारी प्रबन्धका बाबजुद दर्जनौं हिंसात्मक घटनाहरु हुन पुगे जसका कारण केही व्यक्तिले ज्यान समेत गुमाउनु पर्यो भने कतिपय घाइते हुन पुगे । यसैगरी केही सवारी साधन र भवनमा क्षती हुन पुग्यो भने झडप, आगजनी, तोडफोड, विष्फोट तथा अपहरणका घटनाहरु समेत पर्यवेक्षणको क्रममा अभिलेख भएका छन् । 

५.सुझावहरु :-
* मतदान प्रकृया जटिल भएको तथा मतदाताहरु मतपत्रको ढांचामा अभ्यस्त नभएको कारण मतदाता शिक्षालाइर््, खासगरी पहिलो पटक मतदान गर्ने समूह तथा अशिक्षित मतदातालाई लक्षित गरी, थप प्रभावकारी गर्नु पर्ने । मतदान शिक्षामा गैसस, संचार माध्यम, पेशागत, शैक्षिक र प्राज्ञिक तथा निर्वाचन संग सम्बन्धित सस्थाहरुलाई प्रोत्साहित गरिएमा बढि प्रभावकारी हुने ।   

* मतपत्रको विद्यमान ढांचालाई परिमार्जन गरी भविष्यमा हुने अन्य निर्वाचनहरुमा मतदाता—मैत्री बनाउने । 

(उम्मेदवार नभएको दलको वा व्यक्तिको चुनाव चिन्ह मतपत्रबाट हटाउने)

* मतगणना प्रकृया अत्यन्त झञ्झटिलो, पट्यारलाग्दो एवम् समय-श्रोत खर्चिलो देखिएकोले अविलम्ब बैकल्पिक व्यवहारिक विधि अवलम्बन गरी द्रुत गतिमा मतगणनाको नतिजा प्रकाशन गर्ने ब्यवस्थामा मिलाउनु आवसेक देखिएको छ ।   

* आगामी दोश्रो चरणको स्थानीय लगायत अन्य निर्वाचन निर्भयपूर्वक सञ्चालन गर्न सुरक्षा संवेदनशिल क्षेत्रहरुको आंकलन गरी विशेष सुरक्षा व्यवस्था मिलाउने । 

* महिला, जेष्ठ् नागरीक लगायत अन्य विशेष आवश्यकता भएका मतदाता हरुको निम्ति सुरक्षा, सहजता एवम् संवेदनशिलताको दृष्टिकोणले मतदान स्थलहरुमा आवश्यक सुविधाहरुको प्रबन्ध मिलाएकै देखिएता पनि यसलाई अझ बदी प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।   

* आचारसहिंताको परिपालनामा देखिएको कमजोरीलाई सम्बोधन गर्न मूलतः राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्ताहरु जवाफदेही बन्नु पर्ने र उल्लंघनको घटनामा आयोगले अनुगमनलाई थप प्रभावकारी बनाउनु पर्ने । 


सुर्य प्रसाद श्रेष्ठ
अध्यक्ष - नियोक    

हिमालय शमशेर ज.ब.रा.
अध्यक्ष - जियोक                    

लिली थापा 
अध्यक्ष - संकल्प  
२०७४।२।३ गते ११ बजे

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top