संयुक्त विज्ञप्ति


संयुक्त विज्ञप्ति 
२०७३÷११÷२६

यो साता नेपाल कप्युनिष्ट पार्टी एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्र्तगतको कार्यक्रममा सप्तरी, सिराहा लगायतका तराईका केही जिल्लाहरुमा भएका घटनाप्रति हामी नागरिक संगठनहरुको गम्भिर ध्यान आकर्षण भएको छ । राजनैतिक भेला तथा आमसभाहरु शान्तिपूर्ण ढंगबाट गर्न पाउँदछ र यसलाई निषेध गर्ने प्रयास राजनैतिक मुल्य विपरित हो । मानिसको ज्यानै जानेगरी कुनैपनि दुखद घटना आम नेपालीका लागि कहिल्यै सुखद समाचार हुन सक्दैन । सप्तरी जिल्लामा निरर्थक ज्यान गुमाउन पुगेका नेपाली नागरिकहरु र उनीहरुका परिवार प्रति हाम्रो गहिरो सहानुभूति छ । यस्ता दुखद घट्ना दोहोरीन दिनुहुन्न भन्ने हाम्रो जोडदार माग रहेको छ । यस घटना प्रति निष्पक्ष छानविन हुनु पर्दछ र सत्य तथ्य यथासिघ्र सार्वजनिक गर्नु पर्दछ ।

सरकारले स्थानीय निर्वाचन गर्ने घोषणा गरिसकेको सन्दर्भमा पछिल्लो समयमा देशमा राजनीतिक दलहरुका गतिविधिबाट फेरि देश अन्यौल र अस्थिर अवस्थामा त जाने होइन भन्ने आम नेपालीलाई आशंका हुन थालेको छ । मुलुकले लामो संघर्षपछि प्राप्त गरेको संविधान जारी भएपछि र यसको कार्यान्वयनसँगै देशले स्थिरता र सम्बृद्धि पाउला भन्ने नेपाली जनताका आशाहरु यतिवेला फेरि अनायासै निराशामा परिणत हुने अवस्था सृजना हुनु दूर्भाग्यपूर्ण  हो । नेपाली नागरिक समाजले सधैं मुलुकको समुन्नति, भेदभावरहित समाज र नागरिक स्वतन्त्रताको वकालत गर्दै आएको छ । यसकारण हामी कुनै पनि खाले अराजनीतिक गतिविधि, मुठभेद र असामाजिक क्रियाकलापको पक्षमा छैनौं । यसकारण मुलुकमा सधै सामाजिक सदभाव कायम गराउन आम नेपाली जनतासँगै हाम्रो ऐक्यवद्धता सदा झै यथावत छ ।  

कुनैपनि समस्याको समाधान शान्तिपूर्ण मार्गबाट खोजिनु पर्दछ र खोज्न सकिन्छ भन्ने विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै आफ्ना नितान्त निजी स्वार्थ भन्दा माथि उठ्दै जनताको सर्वोपरि हितका बारेमा सोच्न हामी सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरुलाई आग्रह गर्दछौं । मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई समेत ख्याल गर्दै नेपाल एक स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक मुलक हो भन्ने तथ्यलाई हेक्का राख्दै सामाजिक रुपान्तरण र आर्थिक सम्बृद्धि तिर जानुको बिकल्प छैन । आवधिक निर्वाचन नागरिक अधिकार र लोकतन्त्रको आधारभूत मूल्य भएकाले यस्तो बिषयमा विवाद गर्नु नै निरर्थक हो भन्ने हामी ठान्दछौं ।

देशमा शान्ति र अमनचयन कायम गराउने मुख्य दायित्व सरकारको हुने हुँदा हरेक समस्या समाधानका लागि अत्याधिक होसियारी र सावधानी अपनाउन र अनावश्यक वल प्रयोग नगर्न पनि हामी नेपाली सुरक्षाकर्मीहरुलाई आग्रह गर्दछौं । मुलुकको स्थायित्व र अस्तित्व वचाउन राज्यको काँधमा जे जति जिम्मेवारी छन् तिनीहरुको सन्तुलित ढंगबाट परिचालन गर्न हामी पुनः राज्य संयन्त्रलाई आग्रह गर्दछौं । यसकारण, संविधानको भावना र लोकतान्त्रिक प्रक्रियाबाट निकास निकाल्न जिम्मेवार राजनैतिक दल तथा सरकार समक्ष हार्दिक आव्हान गर्दछौं । कुनैपनि समस्याको समाधान शान्तिपूर्ण ढंगबाट खोजांै द्वन्दबाट होइन । 

हिजो फागुण २६ मात्रै पनि कन्चनपुर भारतीय सीमा सुरक्षा बलबाट गोली हानी एक नेपालीको ज्यान गएको छ । यो सामान्य घटना हैन । नेपाल सरकार यस बिषयमा गम्भिर हुनु पर्दछ । देशको सीमाना भीत्र रहेको भूमिको रक्षा गर्नु र आफ्ना देशको नागरिकहरुको जीउधनको सुरक्षा गर्नु सरकारको कर्तब्य हो । तसर्थ, यस बिषयमा सरकारले गम्भिर भएर स्थायी समाधान खोज्न पनि आह्वान गर्छौं ।

तपसिल नागरिक संगठनहरु :-
गैरसरकारी संस्था महासंघ नेपाल
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल
मानव अधिकार एलायन्स
दलित गैसस महासंघ नेपाल
महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समुह नेपाल (एटविन)
सामुदायिक बिद्युत उपभोक्ता महासंघ नेपाल
बियोण्ड बेजिङ कमिटी
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल
राष्ट्रिय अपांग महासंघ नेपाल
शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल
आदीवासी जनजाति गैसस महासंघ नेपाल
जलवायु परिवर्तन नेटवर्क नेपाल
शान्तिको लागि साझा अभियान नेपाल (कोक्याप)
कन्सोर्टियम नेपाल
राष्ट्रिय जेष्ठ नागरिक महासंघ नेपाल
राष्ट्रिय सिंचाई जलउपभोक्ता महासंघ नेपाल
नेपाल युवा संस्था संजाल (आयोन)

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top