"सरकार ! मिल्छ भने मलाई पनि एयरपोर्टसम्म भि आई पि गाडी पठाईदिनु" :- दिल प्रसाद पौडेल


दिल प्रसाद पौडेल
बाग्लुङ, राङ्खानी
हाल मस्कट, ओमन ।

म एक बिकट गाउँमा जन्मिएर हुर्केको न्यून बर्गिय परिवार को एउटा सदस्य हु । छोरा हु । मलाई मेरा बा आमाले दिनभरी खेती किसानी गरेर, अर्काको घरमा गोठालो बसेर, भांडा माझ्दै विभिन्न गाली र वचन सहदै मलाई बिहान बेलुका खान पुग्नेजती जम्मा गरेर खोले र सिस्नुको तरकारी संग मकै को पिठो मागेर ल्याएको महिमा घोलेर खुवाउनुहुन्थ्यो । मलाई राम्रोसंग याद छ मेरी आमाले म चक्लेट खाने पैसा चाहियो भनेर रुदा , कराउदा चिच्याउदा पटुकीको फुर्कोमा बांधेर राखेको एक मोहोर निकालेर गाली गर्दै मेरो हातमा थम्याईदिनु हुन्थ्यो ।मेरो बाबाले चुरोट निक्कै पिउनुहुन्थ्यो ।  एक प्याकेट चुरोट किन्ने सम्म पैसा नभएर चिलाउनेको फुल कटुसको पातमा बेरेर एक सर्को आफू तान्दै अनि एक सर्को बुढा भएका हजुरबालाई दिनु हुन्थ्यो ।

दिनभरी मरीमरी साहुको घरमा जोतिएर पनि त्यही काम गरेको पैसा माग्न जांदा सांक्षी लिएर जानू पर्दथ्यो । खरको झुपडी त्यसमाथी दिनमा पानी चुहिने रातमा तारा देखिने छानामुनी नौलाख सपना देखेर अफिमका गेडाहरु बाल्दै जिन्दगीको उज्यालो खोज्ने बिब शता थियो मेरो परिवारमा । जेनतेन दुख गरि गरि गाउकै एक स्थानिय माध्यामिक बिद्यालयबाट एस एल सी उतिर्ण गर्न सफल भएको म आज खाडीमा चुर्लुम्म गाडिएको छु ।

२०३८ सालमा जन्मिएको म करीब चौध बर्षबाट हरेक दुख , पीडा र चीत्कार पस्कदै कहिले नेपाली सेनामा भर्ती भए, कहिले गाउँकै एक प्राथमिक
बिद्यालयमा शिक्षण पेशामा मासिक ५०० रुपैया पाउनेगरी काम गरें । त्यतिमात्र होइन दिल्लीका हरेक गल्ली गल्लीमा भुस्याहा कुकुर झैं कामको
खोजीमा भौतारिदै हरेक पटक सडकको पेटीमा चप्पलको सिरानी बनाएर निदाउनुपर्थ्यो । पीडा र मेरो मर्म कसले बुझिदिने । गाउँमै प्रेम बिबाह गरेर एक छोराको बाबू भैसकेको म दिल्लीमा करिब एक बर्ष भौतारिएपछी म फेरि घर फर्कें । त्यसपछी झन समस्या बल्झियो पुनस्( शिरमा रिणको भारी, हातमा पासपोर्ट र गोजिमा तमसुक बोकेर म खाडी मुलुक पसेको थिएं । आज ओमनको मरुभुमीबाट आफ्ना कहानी , बेदना र चीत्कार ओकल्न बिबश भएको छु ।

आज खाडीको बसाई पनि करीब बाह्र बर्ष पुगिसकेछ । दशैं आउँछ तिहार आउँछ तर सपनामा मात्र सिमित छन निधारमा राता टीका र पहेंला जमरा
अनि बा आमाले दिएका आशिर्वाद का श्लोकहरु मनभित्र गुम्सिएका छन । मेरो बा आमाले मलाई कहिल्यै नभेट्ने गरि बिदाईका हात हल्लाएको पनि आज १४ बर्ष भैसकेछ । कहिकतै सोच्ने गर्छु मेरो पनि बा आमा वा दिदी बहिनी भएको भए सायद पीडा साट्ने मौका मिल्ने थियो ।

आखिर यी सब चिन्ताका पोकाहरुलाई तिलाञ्जली दिदै यसपालीको दशै मान्न करीब बाह्र  बर्षपछी म नेपाल आउदै छु अपसोच मेरो देशमा शासन
फेरिए , कुर्सी फेरिए अनि नेता र मन्त्रीहरु फेरिएका छन तर जनताका पिडामा मलहम लगाउने तर्फ कसैले ध्यान दिएको मैले पाइन । अस्ति भर्खर ८८ किलो सुन बिदेशी नागरीक संग सांठगांठ गरि भि आई पि को लोगो अंकित गाडीबाट देशको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिना चेक जाँच नै भित्र छिराईयो रे । यसभन्दा पहिले पनि १५ किलो र ३३ किलो सुन यसैगरी आपसी मिलेमतो मा नेपालमा तस्करी गर्ने दुस्साहस गरिएको प्रमाण छ । आखिर यो सब किन रु ए सरकार यदि तिमीमा अलिकती सोच्न सक्ने क्षमता छ भने केबल गरीब निमुखालाई मात्र नीति र नियम अनि कानुन  किन ?

सरकार यसपाली बाह्रबर्षपछी म खाडीबाट दशै मान्न घर फर्किदै छु । मेरी श्रीमती र छोरा बाह्र बर्षपछी आफ्नो श्रीमान र बाबुको आगमनमा खुशी हुँदै अबिर र खादा लिएर बिमानस्थल को आगमन कक्षको मुलद्वार नेर उभिएका हुनेछन । सरकार म यो पनि जानकारी गराउदै छु कि मैले मेरो छोराको लागि र श्रीमतीको लागि दुई तोला कांचो सुन , एक एक वटा मोबाईल, घडी ३२ को टेलिभिजन लिएर आउदै छु । सरकार समक्ष मेरो यो आग्रह छ अनुरोध छ म एक नेपाली हु म संग नेपाली नागरिकताको प्रमाणपत्र छ नेपाली राहदानी छ । मिल्छ र सक्नुहुन्छ भने मलाई पनि बिमानस्थल बाट बाहिर निस्कने बेला भि आइ पि लोगो सहितको गाडी र केही सुरक्षाकर्मीको बन्दोबस्त गरिदिनुहोला । म कुनै बिदेशी नागरीक होइन । यदि यसो गर्न सक्नुहुन्न भने मलाई लिन आएका मेरा श्रीमती र छोरालाई बिमनस्थलबाट धरधरी रुवाउदै रित्तो हात घर नपठाउनुहोला ।

यो मेरो मात्र आक्रोश होइन मेरो मात्र जलन  होइन सरकार बिदेश मा रहेका चालिसलाख नेपालीको आक्रोश हो पीडा हो जलन हो । हरेक बर्ष दशै मनाउन त्रिभुवन बिमानस्थल मा सास्ती खेप्ने गरेका नेपालीहरुको ब्यथा हो । तसर्थ केही दिनको अन्तरालमा नेपालीहरुको लर्को लाग्नेछ त्यहाँ उल्लेख्य सुरक्षा कर्मी तैनाथ राख्नु किनकी तिनिहरुले सुन, मोबाईल, घडी र एक लिटर मादक पदार्थ लिएर आउदै छ्न ।

धन्यवाद ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top