एकीकृत जनक्रान्तिको स्कुलिङ :- खेम थपलिया


खेम थपलिया

रोल्पाको राङ्कोटमा बसेको बुद्धिजीवीको सङ्गठनको बैठकमा प्रचण्डले डा. बाबुराम भट्टराईतिर सङ्केत गर्दै यस्तो कथा भन्नुभएको थियो, “एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एउटा विद्वान् गुरुकहाँ लिएर गएछन् । त्यहाँ पु¥याएपछि भनेछन् कि जेठाचाहिँ ती वर्ष अर्को विद्वान्कहाँ बसेर पढिसकेको छ र यसलाई अलिकति थपथाप बुद्धि र ज्ञान दिएर पारङ्गत गराइदिनुहोला अनि कान्छालाई भने पूरै पारङ्गत बनाइदिनु होला ।” उनको त्यतो कुरा सुनेर गुरुले भन्नुभएछ, “कान्छालाई त तीन वर्षमा म पारङ्गत बनाउन सक्छु तर जेठालाई त छ वर्ष लाग्छ ।” उनको कुरा सुनेर अभिभावक आश्चर्यचकित भएछन् र सोधेछन् “किन ?” गुरुले जबाफ दिनुभएछ, “किनभने जेठालाई पुरानो कुडाकर्कट फ्याँक्न तीन वर्ष र नयाँ विचार दिन अर्को तीन वर्ष लाग्छ ।” 

केही समयअगाडि पार्टीको केन्द्रीय स्कुलिङ विभागको सदस्य एवम् स्कुलिङ अभियन्ताको हैसियतमा तीनमहिने देशव्यापी केन्द्रीय स्कुलिङ अभियानमा सरिक भएको थिएँ । सो केन्द्रीय स्कुलिङ अभियानमा प्राप्त ‘होराइजेन्टल र भर्टीकल’ अनुभवहरू अनगिन्ती छन् । ती अनुभवको जमिनी–यथार्थको आलोकमा एकीकृत जनक्रान्तिको स्कुलिङसम्बन्धी सङ्क्षिप्त चर्चा गरिएको छ । स्कुलिङ भनेको विश्वदृष्टिकोण निर्माण गर्ने प्रश्न हो । विश्वदृष्टिकोण भनेको प्रकृति, मानव–समाज र मानवीय चिन्तनको गतिको विकाससम्बन्धी दार्शनिक मान्यता हो । विश्वमा अधिभूतवाद अर्थात् भ“डुवावाद, सार–सङ्ग्रहवाद र बहुलवाद सार बोकेको पु“जीवादी संशोधनवादी विश्वदृष्टिकोण एकातिर छ भने अर्कोतिर द्वन्द्वात्मक भौतिकवादी कम्युनिस्ट पार्टीको सुसङ्गत अखण्ड विश्वदृष्टिकोण रहेको छ । आज यो माक्र्सवादी–लेनिनवादी–माओवादी विश्वदृष्टिकोणमा विकास भएको छ । यसै दृष्टिकोणद्वारा समृद्ध

कम्युनिस्टले आफ्नो कार्यदिशाको निर्धारण गर्दछन् । एकीकृत जनक्रान्ति त्यसैको प्रतिफल हो ।  स्कुलिङमा धेरैलाई गाँठो पर्ने विषय भनेकै दर्शन हो । दर्शनबारे प्रतिनिधिमूलक भनाइ हेरौँ, “सामाजिक जीवन मूलतः व्यावहारिक छ, सारा रहस्य जसले सिद्धान्तलाई रहस्यवादको गलत बाटोमा भड्काइदिन्छन्, मानव–व्यवहारमा र यस व्यवहारको बोधमा आफ्नो बुद्धिसङ्गत समाधान पाउँछन्”, (माक्र्स फायरवाखमाथि निबन्ध : १८४५, हिन्दी माक्र्स–एङ्गेल्स–लेनिन, द्वन्द्वात्मक भौतिकवाद, पृ. १) । “जीवन र अनुभवको दृष्टिकोण नै ज्ञान सिद्धान्तको पहिलो र मुख्य दृष्टिकोण हुनुपर्छ र यसको अनिवार्य असङ्ख्य प्रध्यापकीय मनगढन्ते पाण्डित्याइ“हरूलाई बढार्दै भौतिकवादमै पु¥याउनेछ”, (लेनिन भौतिकवाद र अनुभवजन्य आलोचनावाद : अङ्ग्रेजी, पृ. ३०१) । “क्रान्तिकारी व्यवहारबाट अलग्गिएपछि सिद्धान्त उद्देश्यहीन बन्छ, त्यसरी नै क्रान्तिकारी सिद्धान्तबाट व्यवहारको बाटो उज्यालो नभएमा व्यवहारले अन्धाकारमा छामछाम–छुमछुम गर्नुपर्ने हुन्छ”, (स्टालिन, लेनिनवादका आधारहरू, १९२४, नेपाली) । “सही विचार सामाजिक व्यवहारबाट मात्र आउँछ, त्यो उत्पादनमा लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगजस्ता तीन किसिमका सामाजिक व्यवहारबाट आउँछ”, (माओ, ग्रन्थ ९, सही विचार कहाँबाट आउँछ ? पृ. १, १९६३) । “दर्शनशास्त्र पहाड र उपत्यकाबाट जन्मन्छ । ... दर्शनशास्त्र विपत्ति र सङ्घर्षका बीचबाट जन्मन्छ । दर्शनशास्त्र एउटा प्रतिकूल परिस्थितिबाट आउँछ”, (माओ, हाङ चाओ सम्मेलनमा भाषण, १९६३ ग्रन्थ ९, पृ. १६) । 

नेपालमा पुष्पलाल–स्कुल र एमबी–स्कुल चर्चामा रहे । एमालेलगायतका संशोधनवादी कम्युनिस्ट धारा पुष्पलाल–स्कुल र माओवादीधारा एमबी–स्कुलद्वार अनुप्राणित रहेको मानिन्छ । माओवादी स्कुलिङ धाराको निर्माण गर्न प्रचण्ड–किरणहरूसित छलफल हुँदै गर्दा प्रचण्डबाट सम्बन्ध–विच्छेद गर्नुपर्ने अभिभारा आइप¥यो । किरणको नेतृत्वमा नयाँ पार्टी बनेपछि पनि नयाँ स्कुलिङ–धाराका विषयमा कुरा भइरहँदा अर्को सम्बन्ध–विच्छेदको परिघटना अगाडि आयो । अहिले हामी किरणबाट पनि सम्बन्ध–विच्छेद गरेर एकीकृत जनक्रान्तिको कार्यदिशा वरिपरि गोलबन्द भएका छौँ । हाम्रा सबै काम–कारबाही मालेमावादी आलोकमा एकीकृत जनक्रान्तिअनुरूप हुनुपर्दछ । तसर्थ, एकीकृत जनक्रान्तिको स्कुलिङ थप नियमित, वैज्ञानिक र व्यवस्थित हुनु अपरिहार्य भएको छ । एकीकृत जनक्रान्तिको स्कुलिङ पुष्पलाल स्कुलिङ र एमबी स्कुलिङलाई पछाडि पार्दै अघि बढेको स्कुलिङ हो ।  

स्कुलिङ मूलतः विचारधारात्मक काम हो । मानिस वैचारिक प्राणी भएकोले उसको हर–व्यवहार आफ्नो विचारधाराको आधारमा हुने गर्दछ । मानिस र अन्य प्राणीबीचमा फरक हुनुको कारण पनि विचारधारात्मक नै हो । अन्य प्राणीहरू प्रकृतिको नियन्त्रणभन्दा बाहिर जान सक्दैनन् तर मानिसले प्रकृतिको नियन्त्रणलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्दछन् । मानिस उन्नतशील मस्तिष्कसहितको विकसित प्राणी पनि हो । माओले भन्नुभएजस्तै विचार कुनै आकासबाट झर्ने नभएर दैनिक व्यवहारबाट पैदा हुन्छ । उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगलाई माओले व्यवहार भन्नुभएको छ । हामी यतिबेला दलाल पुँजीवादविरुद्ध सङ्घर्षमा छौँ । अहिले हाम्रो ध्यान वर्गसङ्घर्षलाई विजयमा फेर्नेतिर सोझिरहेको छ । वर्गसङ्घर्षलाई ठीक ढङ्गले सञ्चालन गर्न क्रान्तिकारी सिद्धान्त अनिवार्य हुन्छ । क्रान्तिकारी व्यवहारलाई सिद्धान्तमा रूपान्तरण गर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । यसमा स्कुलिङको महत्वपूर्ण भूमिका हुन्छ । 

नेपालको वर्गसङ्घर्ष आधारभूत वर्ग (किसान र मजदुर) र मध्यमवर्गमा आधारित हुँदै भौगोलिक र सामाजिक रूपले पिछडिएको ठाउँ एवम् सहरी तथा सुविधासम्पन्न ठाउँ जोड्दै अघि बढिरहेको छ । यसक्रममा आधारभूत वर्ग, जाति र पिछडिएको ठाउँबाट आएका कमरेडहरूमा सापेक्षित रूपमा इमानदारिता, क्रान्तिकारिता र दुःख–कष्ट उठाउन सक्ने गुण देखिन्छ भने सहरीक्षेत्र र सुविधासम्पन्न ठाउँमा आर्थिक–आधार र वर्ग–चिन्तनको सुषुप्त प्रभावका कारण निम्न–पुँजीवादी अरूचि देखापर्दछ । एकीकृत जनक्रान्तिको स्कुलिङमार्फत सच्चा कम्युनिस्ट रूपान्तरणको प्रक्रियाद्वारा एकरूपतामा लैजान सक्छौँ र सक्नु पनि पर्दछ । 

जति–जति वर्गसङ्घर्षको तीव्र हुँदै जान्छ, उति–उति हामी व्यस्तताबाट गुज्रँदै जानेछौँ, जसको कारण वैचारिक काम पछि पर्न सक्तछ । वैचारिक काम केन्द्रीय नेताको मात्र होइन, यो हामी सबैको एजेन्डा हुनुपर्दछ । स्वभावतः मुख्य वैचारिक कामको जिम्मेवारी उपल्लो स्तरको नेतृत्वको काँधमा भए पनि तत्–तत् स्थान र नेतृत्व–कार्यकर्ताले वैचारिक काम गरिरहनुपर्दछ । क्रान्तिकारी विचारलाई जनतासम्म पु¥याउने र जनताबाट नेतृत्वसम्म पु¥याउने काम त्यही नेता–कार्यकताको तहबाट भइरहेको हुन्छ । वैचारिक काम पनि वर्गसङ्घर्षको महत्वपूर्ण मोर्चा हो भन्ने कुरा हामीले कहिल्यै भुल्नुहुँदैन  । 

कामको चापाचाप र समयको उचित व्यवस्थापनको अभावले स्कुलिङ नभएको बेला तत्कालीन राजनीतिक प्रशिक्षणले योजनामा होमिन सहयोग पु¥याउँछ तर त्यसले आधारभूत वैचारिक आवश्यकता पूरा गर्दैन । पार्टीभित्र नयाँ नेता–कार्यकर्ताको धु्रवीकरण भइरहने र स्कुलिङ व्यवस्थित र नियमित नहुने हो भने त्यसले भद्रगोल र अराजकता निम्त्याउँछ । स्कुलिङको अभावमा नेतृत्व–कार्यकर्ताको वैचारिक क्षमतामा विकास हुँदैन, जसका कारण कार्यक्षेत्रमा समस्या देखापर्दछ । स्कुलिङको अभावमा जनताबीचको अन्तर्विरोधलाई ठीक ढङ्गले बुझ्ने र सही ढङ्गले हल नगर्ने, ठोस परिस्थितिको ठोस विश्लेषण सहित अग्रगामी कार्ययोजना निर्माण नगर्ने, क्रान्तिको मित्र शक्तिलाई गोलबन्द गर्ने र सत्रुलाई एक्ल्याउने, जनता क्रान्तिको मुख्य शक्ति हो, जनतासँग गहिरो सम्बन्ध बनाउनुपर्दछ भन्ने कुरालाई बिर्सने, राजनीतिक विश्लेषणका आधारमा दुश्मनले फैलाउने गोयवल्स शैलीको भ्रमपूर्ण प्रचारको जनतासमक्ष समयमै प्रस्ट पार्न नसक्ने, दक्षिणपन्थी, संशोधनवादी र छद्म संशोधनवादीहरूको कूतर्क र विभ्रमको तर्कपूर्ण र तथ्यसङ्गत ढङ्गले खण्डन गर्न नसक्नेजस्ता समस्या देखापर्छन् । वैचारिक प्रस्टता र परिपक्वताको अभावले पलायनतालाई निम्त्याउँछ । तत्–तत् ठाउँमा नयाँ–नयाँ नेतृत्व र कार्यकर्ताको पङ्क्तिलाई वैचारिक रूपले परिपक्व बनाउने मूल आधार भनेकै व्यवस्थित स्कुलिङ प्रणाली हो । 

वैचारिक क्षमताको विकास भनेको क्रान्तिकारी सिद्धान्तलाई सही ढङ्गले बुझ्ने र व्याख्या गर्ने अनि व्यवहारमा लागू गर्ने क्षमताको अभिवृद्धि हो । वर्ग सङ्घर्षको महान् प्रक्रियामा सबै मानिस एकैपटक क्रान्तिकारी विचारले लैस भएर आएका हुँदैनन् । प्रारम्भमा मानिसहरू क्रान्तिकारी व्यवहारमा सहभागी हुन्छन् । विस्तारै उनीहरू क्रान्तिकारी सिद्धान्तसँग परिचित हुन्छन् अनि आफ्नो वैचारिक–राजनीतिक क्षमताको विकास–प्रक्रियामा अघि बढ्छन् । 

वैचारिक क्षमतालाई क्रान्तिकारी व्यवहार र सैद्धान्तिक अध्ययनबाट वृद्धि गर्न सकिन्छ । वैचारिक क्षमता भनेको क्रान्तिकारी सिद्धान्तमा पोख्त हुनु मात्र होइन, यो माक्र्सवादको पाण्डित्याइँ छाट्नु पनि होइन । यो त क्रान्तिको ठोस व्यवहारसँग जोड्नु र जोडिनु हो । व्यवहारबिनाको सिद्धान्त लङ्गडो हुन्छ, सिद्धान्तबिनाको व्यवहार अन्धो हुन्छ भन्ने स्तालिनको भनाइ निकै मर्मयुक्त छ । अध्ययनका लागि अध्ययन, सिद्धान्तबाट सिद्धान्त गलत प्रक्रिया हुन् । एकीकृत जनक्रान्तिको स्कुलिङ नेपालको समकालीन जटिल राजनीतिक गाँठो फुकाउने उद्देश्यका साथ हुनुपर्दछ । स्कुलिङका आधारभूत र तत्कालीन विषयहरू हुन्छन् । कुनै बेला अन्तर्राष्ट्रिय परिस्थितिसँगै नेपालको वर्गसङ्घर्षका इतिहास र अवस्थाबारे स्कुलिङ हुन्थ्यो । त्यसपछि महान् जनयुद्धबारे स्कुलिङ भयो । अनि रणनीतिक रक्षाको चरणमा जनसेनाको निर्माण र छापामार युद्धको विकाससम्बन्धी स्कुलिङ भयो । रणनीतिक प्रत्याक्रमणको चरणमा मोर्चाबद्ध लडाइँको विकास, स्थानीय जनसत्ताको आर्थिक, राजनीतिक काम, जनसम्बन्धजस्ता विषयमा स्कुलिङ भए ।  प्रत्याक्रमणको व्यावहारिक प्रक्रियाबारे स्कुलिङ भए । माओले चीनमा सम्पन्न गरेको रणनीतिक प्रत्याक्रमणलाई नेपालको विशेषतामा कसरी लागू गर्ने भन्ने विषयमा पनि स्कुलिङ भयो । रणनीतिक रक्षा र सन्तुलनबारे, संविधानसभा, जनसंविधान, चार आधार र चार तयारीका विषयमा स्कुलिङ भए । अहिले हामी एकीकृत जनक्रान्ति को स्कुलिङमा छौँ । 

सैद्धान्तिक अध्ययन हामीले गर्ने विषय होइन; पार्टी नीति, योजना र कार्यक्रमलाई ठीक ढङ्गले लागू गरेपछि आफ्नो दायित्व पूरा हुन्छ भनेर सोच्नु गलत हुन्छ । प्रारम्भमा व्यावहारिक प्रक्रियाबाट गुज्रनुपरे पनि हामी त्यहाँबाट सैद्धान्तिक चरणमा उक्लनुपर्दछ । व्यावहारिक प्रक्रियासँगै सैद्धान्तिक प्रक्रिया पनि सँगसँगै कुँदिरहेको हुन्छ भन्ने कुरा स्वतःसिद्ध छ । 

ज्ञान व्यवहारबाट पनि प्राप्त गर्न सकिन्छ; ज्ञान सैद्धान्तिक अध्ययनबाट प्राप्त गर्नै सकिन्छ । सिद्धान्त भनेको व्यावहारिक अनुभवहरूको वैज्ञानिक संश्लेषण हो । हाम्रो स्कुलिङ प्रक्रिया सरलबाट जटिलतातिर जाने हुनुपर्दछ नत्र बल्ढ्याङ खाइन्छ । सरलबाट जटिलता व्यवस्थित स्कुलिङ पद्धति हो । नेपाल कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक नै केन्द्रीय स्कुलिङ विभाग खडा गरेको हो । स्कुलिङसित स्वाध्ययनको कुरा पनि आउँछ । स्कुलिङले एउटा वैचारिक ट्रयाक दिने हो; हिंड्ने हामी आफैँ नै हौँ । स्कुलिङ सबै कुराको त्यस्तो औषधी हो, जुन औषधी खाएपछि वा इन्जेक्सन लगाउनेवित्तिकै रोग च्वाट्टै निको हुन्छ भनेर सोच्न थालियो भने अनर्थ हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टीको ८औँ महाधिवेशनले महत्वपूर्ण सैद्धान्तिक विषयमा निचोडलाई स्कुलिङका माध्यमबाट सिङ्गो पार्टीपङ्क्तिमा स्पष्ट पार्न आवश्यक छ । अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषणका साथै; दर्शन, कार्यदिशा, कम्युनिस्ट नीति र प्रणाली, अधिनायकत्व र जनवाद र केन्द्रीयता, कला–साहित्य, सर्वहारा सांस्कृतिक क्रान्ति, संस्कृति र सांस्कृतिक रूपान्तरण, निगम पुँजीवाद र कम्युनिस्ट अर्थनीति, सूचना र प्रविधि, क्रान्तिको मोडल, इतिहासको मूल्याङ्कन, दलाल पुँजीवाद, प्रधान अन्तर्विरोध र सहायक अन्तर्विरोधहरू, दुईलाइन सङ्घर्ष, संसदीय व्यवस्था÷सत्ताको वैकल्पिक सत्ता ÷जनसत्ताको वास्तविक स्वरूप, कार्यनीति र रणनीति, सङ्घीयता र जातीय नीति, समाजवादमा निजी स्वामित्वको प्रश्न, विस्तारवाद र साम्राज्यवादको पछिल्लो चरित्र, नेता–कार्यकता–जनताको भूमिका, प्रहारको निशाना, साम्यवादी सपना, २१औँ शताब्दीको वैज्ञानिक समाजवाद र जनमुक्ति सेनासम्बन्धी घनीभूत स्कुलिङको आवश्यकता छ । सैद्धान्तिक, राजीतिक वैचारिक र दार्शनिकसँगै नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षबारे पार्टीले लिएका निर्णयहरूलाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न स्कुलिङ महत्वपूर्ण हुन्छ । अबको दुनियाँमा नेताले जे बोले पनि सही हुन्छ र त्यसलाई कार्यकर्ता–जनताले तीनहात उफ्रेर ताली पिटेर समर्थन गर्छन् भनेर कसैले सोचेको छ भने सम्झनुस् कि त्यो महा–फटाहा हो । 

कार्यनीतिद्वारा रणनीतिको सेवा गर्न तथा रणनीतिलाई दृढताका साथ पक्रँदै लक्षित शिखर चुम्न स्कुलिङ अनिवार्य हुन्छ । भनिन्छ नि अर्काले चपाइदिएको खाना दाँत नभएका बच्चा, बूढापाका र सशक्तहरूका लागि मात्र हो । जसको बलियो दाँत हुन्छ, ऊ आफैँले चपाएर खाएको वस्तुको स्वाद जस्तो मीठो र स्वादिलो अरूले चपाएर दिएकोमा कहाँ हुन्छ ? ‘कुडाकर्कटको सफाइ, नयाँ विचारको विकाससहित विश्वदृष्टिकोणको निर्माण’ नै एकीकृत जनक्रान्तिको स्कुलिङ हो । 
१७ चैत, २०७३

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top