काठमाडौं घोषणापत्र जारी गर्दै महासंघको १९ औं साधारण सभा राजधानीमा सम्पन्न


 काठमाडौं घोषणापत्र जारी गर्दै महासंघको १९ औं साधारण सभा राजधानीमा सम्पन्न

काठमाडौं घोषणापत्र जारी गर्दै नेपाल निर्माण व्यवसायी महासंघको १९ औं साधारण सभा राजधानीमा सम्पन्न भएको छ । साधारण सभाले रु. ५ करोड सम्मका निर्माण कार्यहरु विना योग्यता सहभागी हुने व्यवस्थाका लागि पहल गर्ने निर्णय गरेको छ । साथै उपभोक्ता समितिबाट गरिदै आएको रु. १ करोड सम्मका निर्माण कार्यहरुको सिलिङ्गलाई घटाएर रु. ६० लाख गर्ने निर्णय पनि साधारण सभाले गरेको छ ।

निर्माण व्यवसाय ऐन २०५५ र नियमावली २०५६ तथा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ लगायतलाई संशोधन गरी पूर्ण व्यवसायी मैत्री बनाउन पहल गर्ने निर्णय पनि साधारण सभामा भएको छ । गत बैशाख ७ गते सम्पन्न महासंघको राष्ट्रिय भेलाले दिएको निर्देशन अनुसार महासंघको अगुवाईमा यथासिघ्र आन्दोलन शुरु गर्ने निर्णय समेत साधारण सभाले गरेको छ ।

महासंघको वर्तमान कार्य समितिको कार्यकाल यही मिति २०७४ साल मंसिरमा समाप्त हुने भएतापनि मुलुकमा प्रादेशीक र केन्द्रिय सरकारको निर्वाचन समेत घोषणा भई सकेको तथा महासंघको पनि संशोधित विधान अनुसार जिल्ला र प्रदेशको निर्वाचन गर्न समय लाग्ने भएकाले आगामी पुष देखि २०७५ साल जेष्ठ महिना सम्म ६ महिनाका लागि कार्यकाल थप गर्ने निर्णय साधारण सभाले गरेको छ ।

महासंघको विधानमा नवौं संशोधन गर्नका लागि महासंघका महासचिव राम शरण देउजा संयोजक रहेको समितिले  तयार गरेको विधानको साधारण सभामा पेश गरेको मस्यौदामा प्राप्त सुझाव समावेश गरी पारित गर्ने निर्णय पनि साधारण सभाले गरेको छ । साधारण सभाको बन्द सत्रले महासचिव रामशरण देउजा र कोषाध्यक्ष रोशन दाहालको प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

साधारण सभाको उद्घाटन गत शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको थियो । साधारण सभामा देशभरका १५ सय भन्दा बढी निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top