बाढी र चुनावलाई केन्द्रमा राख्दै कांग्रेस नेता प्रदीप पौडेलले थाले सार्थक पहल


बाढी र चुनावलाई केन्द्रमा राख्दै कांग्रेस नेता प्रदीप पौडेलले थाले सार्थक पहल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तराईमा बाढीको समस्या तथा असोज २ मा हुन लागेको स्थानीय निकायको चुनावका सन्र्दभमा बुद्धिजीवी, पेशाकर्मी तथा विज्ञहरुसँग बृहत् परामर्श गर्नु भएको छ । राजधानीमा भएको कार्यक्रममा सहभागीहरुले बाढी पीडितहरुलाई अल्पकालीन तथा दीर्घकालीन राहत पुग्ने गरी तत्काल प्रभावकारी कार्यक्रम शुरु गर्न सुझाव दिएका थिए ।

बाढी पीडितहरुको समस्या महाभूकम्प पीडितहरुको भन्दा कम नरहेको भन्दै उनीहरुले अल्पकालीन रुपमा पर्याप्त खाद्यान्य, पाल, कम्बल, झुल तथा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । बाढीले वर्षेनी तराईलाई तहसनहस पारे पनि राज्य गम्भीर नभएको उनीहरुको आरोप थियो । " बाढी गत वर्ष पनि आएको थियो, यो वर्ष पनि आयो, अर्को वर्ष पनि आउँछ भन्ने राज्यलाई थाह छ , तर समस्या समाधानका लागि राज्यको कुनै दीर्घकालीन सोच नै छैन । " उनीहरुको भनाइ थियो । चुरे क्षेत्रको अत्याधिक दोहन, तीव्र वन फडानी तथा अव्यवस्थित शहरीकरणका कारण नेपालको अन्न भण्डार तराई क्षेत्र मरभूमिमा परिणत भएकोमा उनीहरुले गम्भीर चिन्ता जनाए । समस्या समाधानका लागि दीर्घकालीन सोच सहित राज्य अघि नबढ्ने हो भने तराईको अवस्था झन् भयाभह हुने चेतावनी उनीहरुले दिए । 

स्थानीय निकायको चुनावको सन्दर्भमा उनीहरुले कांग्रेसको भोट बैंक मधेश नै भएपनि मधेशको मुद्दामा कांग्रेस गम्भीर नभएको गुनासो गरे । जुन चुनाव आएपनि पार्टी नेतृत्वले राम्रा भन्दा हाम्रालाई टिकट दिने परिपाटीका कारण तराईमा कांग्रेस कमजोर हुँदै आएको उनीहरुको विश्लेषण थियो । अन्य दलहरुको तुलनामा मधेशमा अझै कांग्रेस नै बलियो रहेको भन्दै उनीहरुले तराईका मुद्दा बुझेका नेताहरुलाई छिट्टै आक्रमक प्रचार प्रसार अभियान सहित मधेश पठाउनु पर्ने माग गरेका थिए ।

विगतमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सुझबुझका साथ तराईका धेरै जिल्लाहरुमा देखिएका आन्तरिक विवाद सुल्झाएको स्मरण गर्दै उनीहरुले पौडेल जस्तै नेता मधेशलाई आवश्यक भएको बताए । जवाफमा पौडेलले विज्ञहरुबाट आएको सुझावलाई आफूले तत्काल पार्टी नेतृत्व समक्ष पु¥याउने प्रतिबद्धता जनाउनुभयो । महाभूकम्पपछि राज्यले पुर्ननिर्माण प्राधिकरण गठन गरे झै बाढी पीडितहरुको समस्या समाधान गर्न राज्यले बलियो संयन्त्र बनाउनुपर्ने पौडेलले बताउनुभयो । नेपाली कांग्रेसलाई मधेशले विगत देखि लगाउँदै आएको अतुलनीय गुनको स्मरण गर्दै पौडेलले कांग्रेस बाहेक अरु कुनै दलले मधेशको समस्या हल गर्न नसक्ने बताउनुभयो । "मधेश मुद्दा सम्बोधन गर्ने दिशामा पार्टी नेतृत्वले विगतमा केही भूल गरेकै हो, अब कुनै पनि हालतमा त्यस्तो गल्ती दोहो¥याउनु हुँदैन" पौडेलले भन्नुभयो । 
             

कार्यक्रममा विज्ञहरुको रुपमा डाक्टर अरुण सुवेदी, इन्जिनियरहरु हरिदर्शन श्रेष्ठ, मुकेश काफ्ले, उमाशंकर शाह, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झा लगायतको सहभागिता रहेको थियो । साथै मधेशबाट प्रतिनिधित्व गर्ने पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्राध्यापक, विद्यार्थीहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो । तराईको बाढी समस्या तथा स्थानीय चुनावका सन्दर्भमा अत्यन्त प्रभावकारी तथा समय सापेक्ष कार्यक्रम आयोजना गरेकोमा उनीहरुले केन्द्रीय सदस्य प्रदीप पौडेललाई विशेष धन्यवाद दिएका थिए ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top