एनआरएन क्यानडाको अध्यक्षमा गोपी काफ्ले विजयी


एनआरएन क्यानडाको अध्यक्षमा गोपी काफ्ले विजयी
एनआरएन क्यानडाको दशौ अधिवेशनको मत परिणाममा प्रतिस्पर्धी देवेन्द्र सुवेदीलाई दोब्बर मतले पराजित गर्दै गोपी काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन् । १७ एनसीसी प्रतिनिधिको मतमा गोपी काफ्लेले ११ र देवेन्द्र सुवेदीले ६ मत पाएका थिए । नेप्लिज क्यानडिएन नेटवर्क अफ क्यानडाका निवर्तमान अध्यक्ष काफ्ले ब्राम्प्टन सिटीबाट सबै भन्दा बादी मत ल्याएर  एनसीसीमा विजयी भएका थिए। एनआरएन को सस्थापन काल देखि नै सक्रिय भएर  क्यानडाको सातौं अधिवेशनमा महासचिव चुनिएका श्री काफ्ले क्यानडा बेलायत को  एनआरएनमा समेत सक्रिय थिए। लेक्चररको रूपमा लामो समय सेवा गरेका गोपी काफ्लेका आधा दर्जन पुस्तकहरू पनि प्रकाशित छन्। 
 
यसैगरी महासचिव पदमा चिरञ्जीवी घिमिरेले १२ मत ल्याएर विजयी भएका थिए भने अर्का प्रत्याशी क्याल्गरीका दिनेश घिमिरेले ५ मत प्राप्त गरेका थिए। टोरन्टोमा निकै लोकप्रिय मानिएका चिरञ्जीवी एनसीसीको निर्वाचनमा पनि प्रतिस्पर्धी भन्दा ३ गुणा बढी मत प्राप्त गरी विजयी भएका थिए। सचिवमा पदमा भएको निर्वाचनमा डा. देवी अधिकारीले ७ का विरुद्धमा १० मत ल्याएर विमला सापकोटालाई पछाडी पार्दै विजयी भएका थिए।  उपाध्यक्षमा राजकुमार महत, रमेश बनियाँ र माधव दुलाल, कोषाध्यक्षमा सूर्य सापकोटा र प्रवक्तामा रविन्द्रराज घिमिरे भने निर्विरोध निर्वाचित भए । सदस्यमा विमला सापकोटा, प्रमिला बस्नेत, करुण कार्की, विनोद राना, दीपक श्रेष्ठ, चन्द्र अधिकारी, सुवास गिरी, देवेन्द्र सुवेदी र दिनेश घिमिरे जुलाई २३ तारिखको निर्वाचनमा विभिन्न सहरबाट निर्वाचित भइसकेका थिए । 
 
क्यूवा र क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रमुख अतिथिको रूपमा समुद्घाटन गर्नुभएको एनआरएन क्यानडाको अधिवेशन तीन चरणमा सन्चालन गरिएको थियो।  उक्त कार्यक्रमकी अतिथि डा. सारा क्षेत्रीले एनआरएनले नेपालमा गरेका लगानी र भूकम्प लगाएत प्राकृतिक प्रकोपमा पुर्याएको सहयोगको समीक्षा गर्दै एनआरएनको सीप र साधनलाई नेपालमा प्रयोग गर्ने वातावरण बनाउन पर्ने कुरामा जोड दिनु भयो । नेपाल सरकारले गैह्र-आवासीय नेपालीहरूलाई दिने सेवा सुविधाहरूको बारेमा प्रष्टपार्दै द्वैध नागरिकता सम्बन्धी नियम-कानुन चाँडै बनून् र सुविधाहरू प्राप्त हून भनी राजदूत पोखरेलले कामना गर्नु भयो ।  एनआरएनका अध्यक्ष तुलसी सापकोटाले सभाध्यक्षको मन्तव्य राख्न क्रममा दुई वर्षे कार्यकाल सफल भएको र यसका लागी सबैको एकता नमुना योग्य रहेको थियो भन्नु भयो । सल्लाहकार मुगा राजभण्डारीले स्वागत गर्नु भयो भने एनआरएनका उपाध्यक्ष दीपक श्रेष्ठले सबै पाहुना एवं सहभागीहरूलाई धन्यवाद दिनुभयो । पहिलो चरणको कार्यक्रम लता खनालले सञ्चालन गर्नु भएको थियो ।
 
कार्यक्रमको दोस्रो चरणमा एनआरएन क्यानडाका उपाध्यक्ष तथा भाषा सहित तथा प्रकाशन विभागका प्रमुख सुरेन उप्रेतीले क्यानडामा २२ वटा नेपाली भाषा कक्षाहरू सञ्चालन हुँदै गरेको कुरा जानकारी गराउँदै ती भाषा कक्षाहरूमा पाठ्यक्रम र पाठ्यपुस्तक नहुँदा विभिन्न उमेर समूहका बालबालिकाहरूलाई पठनपाठन गराउन अति नै कष्टकर भएकोले प्रवासमा नेपाली भाषा भाग १ र २ तयार गरिएको हो भन्नु भयो । भाग एकमा कक्षा १ देखि ३ सम्म र भाग दुईमा ४ देखि ८ कक्षा सम्मको पढाइने कुरा बताउनु भयो । प्रत्येक कक्षालाई ३२ वटा पिरियडमा पढाउनका लागि पाठ तयारी गरिएको उप्रेतीले बताउनु भयो । नेपाली राजदूत महामहिम कालीप्रसाद पोख्रेलले किताबको विमोचन गर्नु भयो । एनआरएन क्यानडाले दुई वर्षमा गरेका संस्मरण योग्य कुराहरूको सँगालो स्मारिकाको पनि राजदूत पोखरेलबाट लोकार्पण भयो ।  एनआरएनका कोषाध्यक्ष सूर्यप्रकाश भट्टराईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास भएको थियो।  नव निर्वाचित  अध्यक्ष  काफ्ले ले सबै लाई धन्यवाद दिदै नेपाली का समस्यालाई पहिचान गर्दै एन आर एन  को दिर्घ कालिन विकास मा सबै सस्थाहरु संग हात मा हात मिलाएर अघि बढ्ने  बताए I 
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top