वोस्टनमा सप्ताह सुरु : दुई दिनमा दुइ लाख ७५ हजार डलर उठ्यो


वोस्टनमा सप्ताह सुरु : दुई दिनमा दुइ लाख ७५ हजार डलर उठ्यो

वोस्टन -  हिजोदेखि वोस्टनमा सुरु भएको श्रीमद्भागवत महापुराण तथा सप्ताह ज्ञान महायज्ञ २०१७ को दोस्रो दिन आज सोमवार करिब एक लाख ४२ हजार डलर संकलन भएको छ ।

सप्ताहको पहिलो दिन आइतवार भक्तजनहरुबाट सवा लाख डलर संकलन भएको कुरा आयोजकहरुले बताएका छन् ।  भक्तजनहरुको उत्साह निकै राम्रो र उत्साहवर्धक देखिएको छ पं पोखरेलले भन्नुभयो । 

एक हप्तासम्म संचालन हुने सो महायज्ञमा वाचन प्रवीण पं दीनबन्धु पोखरेलले प्रवचन दिनुभएको छ । सप्ताह सुन्न वोस्टन वरपरलगायत अरु विभिन्न राज्यबाट पनि मानिसहरु आएका थिए ।

पं. पोखरेलले संगीतवद्ध प्रवचनद्धारा स्रोतागणलाई मन्त्रमुग्ध बनाउनुभएको थियो । वोस्टनमा एउटा आधुनिक किसिमको सामुदायिक केन्द्र निर्माण गर्नका लागि पशुपतिनाथ तथा बुद्ध फाउन्डेसन अफ न्यूइंगल्याण्डको सहयोगार्थ चन्दा संकलन गर्ने उद्धेश्यले सो महायज्ञ आयोजना गरिएको हो ।

यस अघि हिजो बिहान कलश यात्रा सम्पन्न भएको थियो । कलश यात्रामा एकहजार आठ महिलाको सहभागिता रहने बताइए पनि विविध कारणले महिलाहरुको उपस्थिति केही कम रहेको थियो । त्यसलाई परिपूर्ति गर्न पुरुषहरुले पनि कलश बोकेका थिए ।

कलश यात्रालाई सम्बोधन गर्दै पं पोखरेलले कलशको महत्व र यसको उपादेयताका बारेमा प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा लामा तथा बज्राचार्य गुरुहरुले पनि यो सप्ताहको महत्व र सामुदायिक केन्द्र निर्माणमा यसले पुर्याउने योगदानका बारेमा सम्वोधन गर्नुभएको थियो । 

यो हाम्रो धार्मिक आस्थासँग जोडिएको विषय हो । यसको विशेष महत्व छ न्यूह्याम्पसायरबाट आउनुभएका लोक लामा गोलेले भन्नुभयो । त्यसैगरी माया थापा र सलिया नेपालले आजको पहिलो दिनको कार्यक्रम उत्साहजनक भएको बताउनुभयो ।  

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top