निर्माण व्यवसायीहरुको भूमिकाको उचित मूल्यांकन गर्न आग्रह


निर्माण व्यवसायीहरुको भूमिकाको उचित मूल्यांकन गर्न आग्रह

साउन १८–बुधवार - नेपालका निर्माण व्यवसायीहरुले भोग्नु परेका समस्या र समाधानका विषयमा बृहत् छलफल गर्दै नेपाल निर्माण व्यवसायी महासंघ एशोसिएट समन्वय कार्य समितिको सातौं भेला थाइल्याण्डको पटायामा सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै अग्रज निर्माण व्यवासायीहरुले  मुलुकको विकासका लागि निर्माण व्यवसायीहरुले ठुलो योगदान गरेपनि राज्यले त्यसको मुल्यांकन गर्न नसकेको बताए ।

व्यवसायीहरुले विकास निर्माणको क्रममा देखिएको अवरोधका लागि व्यवसायीहरु मात्र जिम्मेवार नरहेको समेत बताए । आफुले गरेको गल्ती स्विकार्न आफुहरु तयार रहेको भन्दै उनीहरुले एकोहोरो व्यवसायीहरुलाई मात्र गाली गर्ने काम औचित्यहिन भएको बताए । व्यवसायी मैत्री ऐन कानुनका लागि महासंघ अब आन्दोलनमा जाने उनीहरुको भनाइ थियो ।

महासंघ अध्यक्ष शरदकुमार गौचनले व्यवसायीहरुको लचकतालाई कमजोरीको रुपमा नलिन राज्यसँग अनुरोध गर्नुभयो । सबै तह र तप्काका व्यवसायीहरुको हितका लागि महासंघ गम्भीर रहेको गौचनले बताउनुभयो । गौचनले महासंघलाई आजको स्वरुप सम्म ल्याउन एशोसिएटको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । निर्माण व्यवसायीहरुको वास्तविक समस्या सही तरिकाले सम्बोधन गरिदिन गौचनले संचार माध्यमसँग आग्रह गर्नुभयो ।

महासंघका मार्नाथ सदस्य जीप छिरिङ लामा शेर्पाले आफनो हक अधिकारका लागि व्यवसायीहरु आफै सजग हुनुपर्छ भन्नुभयो । नेपालको विकास निर्माणमा नेपाली निर्माण व्यवसायीहरुले मात्र अग्रणी तथा अर्थपूर्ण भूमिका खेल्न सक्ने शेर्पाले बताउनुभयो । महासंघका सल्लाहकार सुकुन्तलाल हिराचनले पनि नेपालमा विकास निर्माणको काम स्वदेशी  निर्माण व्यवसायीहरुले मात्र गर्न सक्ने बताउनुभयो ।

महासंघका अर्का सल्लाहकार हरिनारायण रौनियारले व्यवासयीहरु बीचको एकता अपरीहार्य भएको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले व्यवसायीका समस्यामा राज्य गम्भीर नभएको बताउनुभयो । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक तथा महासंघका उपाध्यक्ष निकोलास पाण्डेले कार्य समितिको गतिविधिबारे जानकारी दिनुभयो ।

आगामी दिनमा एशोसिएट समन्वय कार्य समितिले नेपालको निर्माण जगतलाई समृद्ध बनाउन अझ महत्वपूर्ण भूमिका खेल्ने पाण्डेले बताउनुभयो । कार्य समितिका कोषाध्यक्ष मुकेश पन्त, सदस्यद्धय उज्वल गौतम, मोहनकृष्ण श्रेष्ठ लगायतले व्यवसायीहरुका विविध समस्याबारे चर्चा गर्नुभयो ।

सोही अवसरमा भेला सम्पन्न गर्न सहयोग गर्ने जेसीबी कम्पनीका प्रतिनिधिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि महासंघ अध्यक्ष गौचनलाई एशोसिएट समन्वय कार्य समितिका संयोजक निकोलास पाण्डेले मायाको चिनो प्रदान गर्नु भएको थियो । भेलामा ६२ जना निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top