चलचित्र निर्माता कँडेल लण्डनमा सम्मानित


चलचित्र निर्माता कँडेल लण्डनमा सम्मानित

१३ जुलाई, २०१७
क्यालिफोर्निया । प्रवासमा रहेर पनि नेपाली चलचित्रको निर्माण, संरक्षण र सम्र्बद्धनमा अहोरात्र सक्रिय चलचित्र निर्माता तेजेन्द्र कँडेल हालै बेलयतमा आयोजित ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड–२०१७’ बाट सम्मानित हुनुभएको छ । विगत लामो समयदेखि युरोपको मुटु मानिने बेल्जियमलाई कर्मथलो बनाउनुभएका कँडेल करिब एक दशक देखि नेपालको चलचित्र क्षेत्रमा सक्रिय रुपमा क्रियाशील हुनुहुन्छ ।

जुलाई १ मा लण्डनमा आयोजित कार्यक्रममा कँडेलका साथै अन्य दर्जनबढी चलचित्र क्षेत्रमा सक्रिय प्रवासी कलाकार, चलचित्र निर्मातालगायत चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीलगायत सम्मानित हुनुभएको थियो । एक चलचित्रकर्मीका अलावा सम्मानित कँडेल बेल्जियममा मात्र नभै सिँगो युरोपभर एक सहृदयी नेपालीको रुपमा समेत परिचित हुनुहुन्छ । कसैलाई अप्ठेरो परेको खण्डमा मन, बचन र कर्मदेखि नै सहयोग गर्न पछि नहट्ने कँडेलले गरेको सहयोगकै कारण आज कयन् नेपालीहरुले युरोपमा आफूलाई स्थापित गर्न सफल भै सकेका छन् ।

‘सम्पत्ति र प्रतिष्ठा फरक विषय हुन् । तर आफू नेपाली भएको र नेपालीलाई सहयोग गर्न पाउँदा आफूलाई निक्कै आनन्द अनुभूति हुँदो रहेछ’ कँडेल बताउनुहुन्छ । नेपालको बाग्लुङ्ग जिल्ला स्थायी घर भएका कँडेल युरोपमा रहेका नेपालीहरुमाझ समाजसेवी तथा सहृदयी नेपालीको रुपमा परिचित हुनुहुन्छ । अफ्ठेरो परेर सहयोगको याचना गर्ने युरोपको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई पनि कँडेलले दिल खोलेर सहयोग गर्दै आउनुभएको छ ।

लण्डनको ‘थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुप’को संयुक्त आयोजनामा गरिएको सो अवार्ड वितरण कार्यक्रममा कँडेलका अलावा नेपाली चलचित्र क्षेत्रमा अविरल रुपमा सक्रिय भएका निर्माता, वितरक, हल व्यवसायी, संगीतकर्मी, नायक, नायिका, प्राविधिक र अन्य फिल्मकर्मीहरुलाई पुरस्कार स्वरुप मेडल र सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्रकर्मीहरु कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापालगायत बेलायतको सो कार्यक्रममा सहभागी थिए । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top