चीनियाँ र भारतीय दुतावास अगाडी शान्ति समाजको प्रदर्शन


मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०७४ असार २७ गते मंगलबार चिनियाँ दुतावास र भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन सम्पन्न भएको छ । “युद्ध निषेध : शान्ति विशेष” भन्ने मान्यतासहित युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई प्रवद्र्धन गर्न निरन्तर अभियानरत रहेको शान्ति समाजले चीनियाँ र भारतीय दुतावास अगाडी चीन र भारत दुवै देशका सरकारलाई उत्तेजनामा नआई वार्ताको माध्यमबाटै समस्याको समाधान गर्न जोड दिदैँ धर्ना प्रदर्शन आयोजना गरेको हो । 

दिउँसो १ बजे देखी काठमाण्डौँ स्थित चीनियाँ दुतावास अगाडी र २ बजेदेखी भारतीय दुतावास अगाडी प्रदर्शन भएको थियो । धर्ना प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कंडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनीसहित दर्जनौ शान्तिवादीहरु सम्मिलित हुनुहुन्थ्यो । धर्नाको अन्त्यमा सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्तिप्रेमी नागरिकहरुले युद्धलाई बढावा दिने चीन होइन शान्तिलाई प्रोत्साहन गर्ने चीन हेर्न चाहेको र आवेगमा आउने होइन सहयोगात्मक भारतको अपेक्षा गरेको बताउनुभयो । 

चीनियाँ सत्ता लोकतान्त्रिक नभएको हुदाँ यदाकदा संसय हुने र भारतीय सत्ता लोकतान्त्रिक भएपनि यदाकदा बहकिने तर्फ इगित गर्दै पहाडीले २ अर्व ६० करोड भन्दा बढी नागरिकहरुबीच कुनै समस्या नभएको र नागरिकहरु युद्ध विरोधी र शान्तिको पक्षपाती भएको उल्लेख गर्नुभयो । 

हालै चीन र भारतबीच बढ्दै गएको तिक्तताप्रति शान्ति समाजले गहिरो चिन्ता व्यक्त गरेको छ । दुवै देशका सञ्चार माध्यम र सरकारी निकायहरुको भाषा पनि उत्तेजक हुदैँ गएको देखिन्छ जसले युद्धोन्मुख अवस्थाको चित्रण गर्दछ जुन विश्व शान्तिका लागि खतरा हो । तसर्थ युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न र वार्ताको माध्यमबाटै समस्या हल गर्न आग्रहसहित समाजका तर्फबाट चीनियाँ राष्ट्रपति  सि जिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखिएको पत्र पनि असार २७ गते काठमाण्डौँस्थित चीनियाँ र भारतीय राजदुतावासमा हस्तान्तरण गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ “हालै चीन र भारतबीच बढ्दै गएको तिक्तताप्रति शान्ति समाज गहिरो चिन्ता व्यक्त गर्दछ ।

एशियाका दुई विशाल मुलुक चीन र भारतको परिचय प्राचीन सभ्यता, समृद्ध सम्पदा र ऐतिहासिक विशिष्टता पनि हो भने वर्तमानमा दुवै देशहरुले हासिल गरेको आर्थिक उन्नति हामी सबैका लागि गर्वको विषय हो । हामी चीनियाँ र भारतीय जनताका मित्र हौँ र युद्ध विरोधी हौँ  र समग्र नागरिकहरुका तर्फबाट विशेष आह्वानसहित युद्ध निषेध : शान्ति विशेष अभियान सञ्चालन गरिरहेका छौँ । चीन र भारतबीच विद्यमान तनावको सन्दर्भमा युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न र वार्ताको माध्यमबाटै समस्या हल गर्न चीन÷भारत सरकारलाई हामी विशेष आग्रह गर्दछौँ ।”

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top