समाजसेवी भण्डारीको सहयोगमा एकीकृत वस्तीमा पुस्तकालय


समाजसेवी भण्डारीको सहयोगमा एकीकृत वस्तीमा पुस्तकालय

सिन्धुपाल्चोक गिरानचौरस्थित धुर्मस सुन्तली फाउण्डेशनद्धारा निर्माण गरिएको एकीकृत वस्तीमा अत्याधुनिक पुस्तकालय संचालनमा आएको छ । गोकर्णेश्वर नगरपालिका–८ निवासी समाजसेवी दीपकसिंह भण्डारी तथा उहाँकी श्रीमति शकुन्तला भण्डारीले स्वर्गिय पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञ कुमारी भण्डारीको सम्झनामा पुस्तकालय स्थापना गरिदिनु भएको हो ।

विभिन्न खाले पुस्तक, फर्निचर, ल्यापटप सहित पुस्तकालयमा करीब ८ लाख रुपैया बराबरको सामाग्री रहेको समाजसेवी भण्डारीले जानकारी दिनुभयो । सिन्धुपाल्चोक क्षेत्र नम्बर तीनका सभासद् शेरबहादुर तामाङ, गोकर्णेश्वर नगरापालिकाका मेयर सन्तोष चालिसे लगायतले एकीकृत वस्तीमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा पुस्तकालयको उद्घाटन गर्नुभयो ।

सोही अवसरमा एकीकृत वस्तीको सहयोगार्थ गोकर्णेश्वर नगरपालिकाका समाजसेवीहरु लक्ष्मण श्रेष्ठले ५ हजार तथा मोहन बराल र प्रदीप ठकुरीले पनि ३–३ हजार रुपैया प्रदान गर्नुभयो । चामुण्डा माध्यामिक विद्यालयका प्रधानाध्यापक यादवप्रसाद पौडेलले विद्यालय परिवारको तर्फबाट शैक्षिक तथा खेलकूदका सामाग्रीहरु प्रदान गर्नुभयो भने गोकर्णेश्वर नगरपालिकाकै अच्यूत चालिसेले व्यक्तिगत रुपमा पोडियम उपलब्ध गराउनुभयो ।

कार्यक्रममा सभासद् शेरबहादुर तामाङ, गोकर्णेश्वर नगरापालिकाका मेयर सन्तोष चालिसे लगायतले एकीकृत वस्तीका लागि पुस्तकालय स्थापना गरिदिएर समाजसेवी भण्डारीले उदाहरणीय कार्य गरेको चर्चा गर्नुभयो ।

वस्तीको तर्फबाट समाजसेवी भण्डारीको विशेष सम्मान समेत गरिएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका स्थानीय समाजसेवीहरु शत्रुध्नबहादुर सुवेदी, डाक्टर सुवास प्याकुरेल, कुमार श्रेष्ठ, आनन्द बराल लगायतका वक्ताहरुले एकीकृत वस्तीमा शैक्षिक वातावरण सिर्जना पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक चामुण्डा माध्यामिक विद्यालय व्यवस्थापन समितिका संयोजक कृृृष्णगोपाल तामाङलाई पनि सो अवसरमा सम्मान गरियो । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top