शिली नाचेर मनाए किरातीहरुले उभौली पर्व


 शिली नाचेर मनाए किरातीहरुले उभौली पर्व

किसोर श्रेष्ठ
उर्लाबारी÷ ४,जेठ - किरात राईहरुको महान् चाड उभौली पर्वको अवसरमा उर्लाबारी–३ मङ्गलबारेमा साकेला शिली प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल भरीका किरात राईहरु कोयु, खालिङ,चाम्लिङ, सम्पाङ, बान्त्तवा, थुलुङ, सुनुवार, बाहिङ,वाम्बु लगायतले आ–आफ्नो संस्कृति आनुसार शिली नाची उभौली पर्व (वास, साकेला, तोषी, साकेन्वा) भव्यताका साथ मनाएका छन् ।

किरात राई यायोख्खा नगर समिति उर्लाबारीद्वारा आयोजित सो प्रतियोगितामा पथरीशनिश्चरे, कोशीहँरैचा, लेटाङभोगटेनी र डाँगीहाटको समुह सहभागी थिए ।. प्रतियोगितामा प्रथम हुने लेटाङभोगटेनी समुहलाई चौरीको पुच्छर, द्वितीय हुने डाँगीहाट समुह र तृतीय हुने  पथरी शनिश्चरे समुहलाई झ्याम्टा पुरस्कार प्रदान गरिएको समितिका सदस्य नुतन राईले जानकारी दिएका छन् ।

राईका अनुसार प्रकृति पुजक किरातहरुले उभौली र उधौली गरी बर्षको दुई पटक आफ्नो पर्वलाई मनाउने गर्दछन् । त्यसै क्रममा वैशाख पुर्णिमाको अवसरमा मनाइने उभौली पर्वलाई किरात राईहरुले भव्यताका साथ शिली नाचेर मनाएका छन् ।

बृद्ध बृद्धा देखि युवायुवती र बालबालिकासम्मले एउटै घेरा बनाइ ठोल र   झ्याम्टाको  मधुर लय र तालमा मिलेर नाच्दै गरेको दृश्य निकै आकार्षक बनेको थियो । किरातीहरुले आफ्नै भेषभुषामा सजिएर नाच्दा कम आर्कषक देखिदैनन् । 

महिला पुरुष किरात–गैरकिरात जोसुकैलाई पनि शिली नाच्नको निम्ती बन्देज नभएको साकेला किरातीहरुमा मात्रै नभएर गैरकिरातीहरुमा लोकप्रिय पर्वको रुपमा विकशीत हुदैगएको उर्लाबारीका राजन राईले बताएका छन् ।

कार्यक्रममा किराँत राई यायोख्खा मोरङ अध्यक्ष नवीन राई ,काङ्ग्रेस क्षेत्रीय सभापति खड्ग फागो, सङ्घीय समाजवादी फोरमका नगर अध्यक्ष रामकुमार राई, समाजसेवी जयधर्म आचार्य, किसोर चन्द्र राई, पारसमणी कुईकेल लगायतले सबै समुदायको भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top