चितवनको कालिकामा मतपत्र भिज्यो : वडा नं. ११ मा भोली मतदान हुने


चितवनको कालिकामा मतपत्र भिज्यो : वडा नं. ११ मा भोली मतदान हुने

शिशिर सिंखडा

चितवन, १ जेठ - पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ८ छेपेढाप र वडा नं. ९ नयाँबजार शक्तिखोर केन्द्रको मतपत्र भिजेको छ । हिजो बैसाख ३१ गते भएको निर्वाचन पछि मतपत्र ढुवानी गर्ने क्रममा सो मतपेटिका सहित मतपत्र साझ परेको पानीको कारण भिजेको हो । सो मतदान केन्द्रबाट कालिका नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृत कार्यालयसम्म मतपत्र ल्याउँदा छेपेढाप केन्द्रको ६ वटा मतपेटिका र नयाँ बजार केन्द्रको ४ वटा मतपेटिका पानीले भिजेको पाइएको थियो । 

सो मतपेटिका ढुवानी गर्ने क्रममा प्रयोग भएको सवारी साधनको छत खुल्ला रहेको र त्रिपाल समेत नओढाई लापारवाहीपूर्ण तवरले मतपेटिका लगेको भन्दै स्थानीय मतदाता आक्रोशित भएका छन् । सो मतपेटिका राती कालिका नगरपालिका कार्यालयमा ल्याई पु¥याएपछि कोल्ट्याउने क्रममा मतपेटिकाबाट एक गिलासभन्दा बढी पानी झारिएको थियो । सो मतपेटिका ल्याउने क्रममा लापारवाही भएको स्वीकार्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन अधिकृत नेत्र प्रसाद शर्माले सो मतपत्रको सम्बन्धमा निर्वाचन कार्यालय काठमाडौंमा जानकारी गराएको बताए । सो मतपेटिका जे जस्तो अवस्थामा छ सोही अवस्थामा राखिने समेत उनले बताए । 

सो लापारवाहीको घटना पश्चात स्थानीय राजनीतिक दलले मतपेटिका भण्डारणको सहमति नगरेपछि राती २ बजेसम्मको छलफलबाट दोषी उपर छानविन र कारवाही गर्ने, मतगणनाको क्रममा आवश्यक निर्णय गरी अगाडि बढ्ने लिखित सहमति भएपछि सो मतपेटिका अन्य मतपेटिका भएकै स्थानमा राखिएको थियो । सो कालिका वडा नं. ८ को तीनवटा बुथमा २ हजार १ सय ९० मत खसेको थियो भने वडा नं. ९ को दुईवटा बुथमा १ हजार ६ सय २७ मत खसेको थियो । सो वडामा क्रमशः २ हजार ६ सय ५२ र १ हजार ९ सय ८ मतदाता रहेका थिए ।

कालिका ११ मा भोली मतदान : –
गत वैसाख २६ गतेको वर्षासंगै परेको चट्याङ्ग लागेर माओवादी केन्द्र तर्फबाट वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएपछि स्थगित भएको सो वडा नं. ११ सिद्धि मजवाङको मतदान भोली जेठ २ गते मंगलबार हुने भएको छ ।

सो वडामा माओवादी केन्द्रले शुकराम प्रजालाई सदस्यको उम्मेदवार चयन गरेको छ ।

वडामा ८ सय २० मतदाता रहेका छन् । 

चितवनमा ७६ प्रतिशत मत खस्यो  :–
चितवनमा हिजो भएको निर्वाचनमा ७६ दशमलव ७४ प्रतिशत मत खसेको छ । चितवनका निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए अनुसार भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २ सय ७४ मतदात मध्ये १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । त्यस्तै रत्ननगर नगरपालिकामा ४३ हजार १ सय ५४ मतदाता रहेकामा ३४ हजार ६ सय ६५ मत खसेको छ भने खैरहनीमा ३३ हजार २ सय ६३ मध्ये २६ हजार ३ सय ३९, त्यस्तै राप्तीमा २९ हजार ९ सय ९८ मध्ये २३ हजार २ सय ३२, माडीमा २१ हजार ६ सय ७२ मध्ये १६ हजार ३ सय ७१, कालिका नगरपालिकामा २२ हजार ९ सय ८७ मध्ये १० वटा वडामा १७ हजार ८ सय ९७ मत खसेको थियो । त्यस्तै इच्छाकामना गाउँपालिकामा ११ हजार ६ सय ५४ मतदाता रहेकोमा ८ हजार ८ सय ९२ मत खसेको छ ।

कुल ३ लाख १३ हजार २ मतदाता रहेको चितवनमा २ लाख ४० हजार १ सय ८६ मत खसेको ढकालले बताए साथै पूर्वी चितवनको कालिका नगरपालिका बाहेक भरतपुर महानगरपालिका र अन्य नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा मतगणनाको प्रक्रिया थालिएको समेत उनले बताए । कालिका नगरपालिकाको वडा नं. ११ का वडा सदस्यको मृत्यु भएकोेले सो वडामा भोली मतदान भएपछि ३ गते बिहानबाट मतगणना शुरु हुने समेत ढकालले बताए ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top