तालिममा व्यस्त म्यादी प्रहरी ( फोटो फिचर सहित )


तालिममा व्यस्त म्यादी प्रहरी ( फोटो फिचर सहित )

किसोर श्रेष्ठ
उर्लाबारी, ६ बैशाख - ईलाका प्रहरी कार्यालय उर्लाबारीले निर्वाचनको सुरक्षाका लागि तैथान हुने म्यादी प्रहरीको तालिम सञ्‍चालन गरिरहको छ । आगामी बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनलाई सफल पार्नका लागि म्यादी प्रहरीको छनौटमा परेका मध्यहरुबाट उर्लाबारी नगरपालिका आसपासका म्यादी प्रहरीहरुलाई तालिम दिदै आएको हो ।

६२ जना महिला र १५५ जना पुरुस गरी कुल २१७ जना म्यादी प्रहरीलाई आफू लगायत कार्यालयमा आवद्ध प्रहरीहरुले निर्वाचनको समयमा कसरी सुरक्षा प्रदान गर्न सकिन्छ, मतदान भनेको के हो, सुरक्षा रणनीति लगायतका विभिन्न विषयमा तालिमहरु दिदै आएको कार्यालय प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिएका छन् ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातारणमा सम्पन्न गर्ने राज्यले म्यादी प्रहरीबाट अपेक्षा राखेको र सोही अनुरुप निर्वाचनमा सुरक्षा प्रदान गर्ने उदेश्य सहित ईलाका प्रहरी कार्यालय उर्लाबारीले तालिम सञ्‍चालन गरिरहेको पनि कार्यालय प्रमुख थापाले जानकारी गराएका छन् । म्यादी प्रहरीहरुलाई उर्लाबारी बहुमुखी क्याम्पस, राधिका उच्च माध्यमिक विद्यालय लगायतका स्थानमा दैनिक ८ घण्टा तालिम प्रदान गर्दै आएको छ ।

देशभरबाट ७५ हजार जना म्यादी प्रहरीका छनोट गरिएसँगै तालिम सञ्‍चालन गरिरहको छ । चुनावका लागि छानिएका म्‍यादी प्रहरीहरु ५५ दिनका लागि नियुक्त हुनेछन् भने उनीहरुलाई सरकारले प्रहरी जवान सरह तलब दिने छ ।

म्यादी प्रहरीका लागि पूर्व आर्मी, पूर्व प्रहरी देखी बैदेशिक रोजगारीबाट फर्किएका, सामान्य ब्यापार गरेर बसिरहेका, किसान लगायतको आकर्षण देखिएको  छ ।

 

तस्विरहरु : अस्मीता फोटो स्टुडियो, उर्लाबारी

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top