देउवा भन्छन् : मोर्चा चुनावमा आए २ चरणमा चुनाव हुन्छ


देउवा भन्छन् : मोर्चा चुनावमा आए २ चरणमा चुनाव हुन्छ

१८ अप्रिल, २०१७
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी मोर्चा चुनावमा सहभागी हुने निश्चित भएमा स्थानीय तहको चुनाव दुई चरणमा गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । झापामा एक कार्यक्रममा पुगेका नेता देउवाले मधेशी मोर्चाले चुनावमा सहभागी हुने सुनिश्चितता व्यक्त गरेमा निर्धारित चुनाव दुई चरणमा गराउन आफूहरु तयार रहेको उहाँको भनाई छ । त्यसका लागि मोर्चाका तर्फबाट चुनामा सहभागी हुने लिखित प्रतिबद्धता आवश्यक पर्ने नेता देउवाको भनाई छ ।

अहिलेको अवस्थामा चुनावको विकल्प नभएको भन्दै चुनावमा सहभागी भएर सबै समस्याको समाधान खोज्न उहाँले मोर्चालाई आग्रह गर्नुभयो । मधेशी मोर्चाले अहिलेको अवस्थामा संविधान संशोधन प्रस्ताव परित गरेर अघि बढ्नुपर्ने धारणा राखेका बेला उहाँले यस्तो बताउनुभएको हो । चुनावले नै सबै समस्याको समाधान दिने भन्दै चुनावमा सहभागी हुन र आफ्ना जायज मागलाई पनि वार्ताको माध्यमबाट अघि बढाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

चुनाव जनताको आधार भएको भन्दै चुनावको विरोधमा कुरा नगर्न र यसलाई विथोल्ने प्रयासमा नलाग्न सबैलाई आग्रह समेत गर्नुभयो । मधेशी जनता अझै बढी उत्पीडनमा परेको बताउँदै देउवाले उनीहरुको मुक्तिका लागि पनि चुनाव अपरिहार्य रहेकोमा जोड दिनुभयो । मधेशी मोर्चाको गतिविधि चुनाव विरोधी रहेको भन्दै यसर्लाइ स्वीकार गर्न मोर्चालाई आग्रह गर्नुभयो । विकास, शान्ति र स्थायीत्व अहिलेको प्रमुख आवश्यकता भएको र चुनावले नै यी सबै समस्यालाई मिलाउने उहाँको भनाई छ ।

कसैले मधेसी राष्ट्रवाद, कसैले पहाडी राष्ट्रवादको कुरा गरेर मुलुकमा विखण्डन ल्याउन चाहन्छन्, । तर, हामीले त्यसलाई रोक्नुपर्छ  भन्दै देउवाले मेलमिलापको बाटोमा नेपाली काँग्रेस अघि बढ्ने उहाँको भनाई छ । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top