गोकर्णेश्वरको मेयरमा दीपक रिसालको नाम एक नम्बरमा सिफारिश


गोकर्णेश्वरको मेयरमा दीपक रिसालको नाम एक नम्बरमा सिफारिश

स्थानीय निकायको निर्वाचनका लागि विभिन्न पार्टीबाट उम्मेदवारी दिने क्रम तीव्र भइरहेको छ । राष्ट्रिय राजनीतिमा बलियो पकड रहेको नेपाली कांग्रेसबाट टिकट दाबी गर्नेहरुको सूची लामो हुनु अस्वभाविक होइन । त्यसमाथि पनि रणनीतिक महत्व बोेकेको ठाउँमा कांग्रेसको तर्फबाट टिकट पाउन निकै रस्साकस्सी चल्ने गरेको छ ।

यसै सन्दर्भमा राजधानीमा रहेको गोकर्णेश्वर नगरपालिकाको मेयरका लागि कांग्रेसबाट धेरै आकांक्षीहरु देखिएका छन् । यी मध्ये प्रमुख पात्र हुन् – महाधिवेशन प्रतिनिधि दीपक रिसाल । राजनीतिसँग सँगै सामाजिक काममा पनि उत्तिकै क्रियाशील रिसाल हालै गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडाबाट गरिएको समग्र सिफारिसको आधारमा पनि पहिलो नम्बरमा रहेका छन् । यसबाट पनि गोकर्णेश्वर नगरपालिकामा रिसालको लोकप्रियता प्रमाणित भएको छ । सिफारिसमै एक नम्बरमा परेपछि अब रिसालले नै टिकट पाउने निश्चित प्राय भएको र उनको जीत पनि सुनिश्चित रहेको स्थानीयहरुले बताएका छन् ।

रिसाल गोकर्णेश्वर नगरपालिका, आरुबारीका स्थायी बासिन्दा हुन् । नेपाल विद्यार्थीसंघबाट राजनीतिक यात्रा सुरु गरेका रिसाल २०४६ सालको जनआन्दोलनदेखि नै राजनीतिमा सक्रिय छन् । २०६२–६३ को दोस्रो जनआन्दोलमा वरिष्ठ नेताहरुसँगको समन्वयमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाले उनलाई एक पाको राजनीतिज्ञको रुपमा स्थापित गर्यो ।

तेह्रौ महाधिवेशनमा पनि उनी लोकप्रिय मत सहित महाधिवेशनमा चुुनिन सफल भए । स्थानीय क्लबहरु सहित सामाजिक तथा साहित्यिक संघ संस्थाहरुमा क्रियाशीलताका कारण रिसाल युवा युवतीहरुदेखि वृद्धवृद्धासँग पनि अत्यन्त लोकप्रिय रहेका छन् । गोकर्णेश्वर नगरपालिकालाई देशकै समृद्ध तथा सुन्दर नगरपालिका बनाउने ठोस कार्ययोजना आफुसँग रहेको रिसालले बताएका छन् ।

युवाहरुको साथसँगै ठूलाबडाहरुको आर्शिवाद सहित आफू चुनावी मैदानमा होमिएको बताउने मृदुभाषी रिसाल लामो समयदेखि नगरबासीको सुखदुखका साथी भएका कारण आफूले सबैको माया पाउनेमा आशावादी देखिएका छन् ।   
 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top