काठमाडौ महानगरपालिकको मेयरमा कांग्रेस तेस्रो धारको नयाँ अनुहार


काठमाडौ महानगरपालिकको मेयरमा कांग्रेस तेस्रो धारको नयाँ अनुहार

१६ अप्रिल, २०१७ काठमाडौं ।   

यही वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि विभिन्न पार्टीबाट उम्मेदवारी दिने क्रम तीव्र भइरहेको छ । नेपालमा हुने गरेका महत्वपूर्ण राजनीतिक घटनाक्रमको नेतृत्व गरेको हिसाबले यस पटकको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस हावी हुने निश्चित छ । राष्ट्रिय राजनीतिमा बलियो पकड रहेको नेपाली कांग्रेसबाट टिकट दाबी गर्नेहरुको सूची लामो हुनु अस्वभाविक होइन । त्यसमाथि पनि रणनीतिक महत्व बोेकेको ठाउँमा कांग्रेसको तर्फबाट टिकट पाउन निकै रस्साकस्सी चल्ने गरेको छ । यसै सन्दर्भमा नेपालको सबैभन्दा ठूलो तथा सुविधा सम्पन्न काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट धेरै आकांक्षीहरु देखिएका छन् । यी मध्ये प्रमुख पात्र हुन् – प्रतिभाशाली इन्जिनियर आर्किटेक्ट सुसन वैद्य । गत वर्ष सम्पन्न नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट शशक्त तेस्रो धारको रुपमा देखा परेको वैचारिक समूहलाई नेतृत्व गर्ने वैद्य नेपाल इन्जिनियर्स एशोसिएसनका कोषाध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंका सदस्य समेत हुन् ।

सन् १९८१ मा जन्मिएका वैद्य राजधानीका स्थायी बासिन्दा हुन् । नेपाल विद्यार्थीसंघबाट राजनीतिक यात्रा सुरु गरेका वैद्यको पारिवारिक पृष्ठभूमि पनि राष्ट्रिय राजनीतिसँग जोडिएको छ । स्वतन्त्रता सेनानी वैद्यका पिता २०३६ सालको आन्दोलनमा गोली लागी गम्भीर घाइते हुनु भएको थियो । २०५५ सालमा स्वतन्त्र विद्यार्थी युनीयन थापाथली इन्जिनियरिङ क्याम्पसको सभापति निर्वाचित भएपछि वैद्यको राजनीतिक जीवनले गति लिन थाल्यो । उनले नेविसंघ काठमाडौंको सदस्य, सचिव तथा उपाध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरे । यसक्रममा उनले विभिन्न समयमा भएका आन्दोलनमा अग्रिम मोर्चामा रही नेतृत्वदायी भूमिका खेले । २०५९ सालपछिको प्रतिगमन विरोधी आन्दोलन तथा २०६२–६३ को दोस्रो जनआन्दोलमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाले उनलाई एक पाको राजनीतिज्ञको रुपमा स्थापित गर्यो ।

यसक्रममा भएका महंगी विरुद्दको आन्दोलन सहित अन्य विविध प्रकृतिका विद्यार्थी आन्दोलनमा समेत उनी सक्रिय रुपमा सहभागी भए । इन्जिनियरिङको पढाइ सकेपछि इन्जिनियर्स एशोसिएसनमा सक्रिय वैद्य २०१२ मा प्रतिकूल अवस्थाका बाबजुद प्रजातान्त्रिक धारको नेतृत्व गर्दै एशोसिएसनको सदस्य निर्वाचित भए । गत वर्ष एशोसिएसनको कोषाध्यक्ष निर्वाचित हुँदा पनि उनले सबैभन्दा बढी मत हासिल गरे । एशोसिएसनले उनलाई विभिन्न अवार्डबाट सम्मानित गरिसकेको छ । 

पछिल्लो समय काठमाडौं उपत्यकाको विकास निर्माण र यसलाई बस्न योग्य शहर बनाउने वर्तमान स्वास्थ्यमन्त्री गगनकुमार थापाको नेतृत्वमा उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुको अभियानमा समेत वैद्यले काम गरेका छन् । प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा उनको सल्लाहकार रहेर काम गरेका सुसन हाल पोखरेलले नै नेतृत्व गरिरहनु भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा विज्ञका रुपमा कार्यरत छन् । यसरी सुसनले कम उमेरमा नै महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आफूलाई व्यवसायीक रुपमा स्थापित गरिसकेका छन् । 

शहरीकरण र विकासमा राम्रो दख्खल राख्ने सुसन कांग्रेस काठमाडौंको राजनीतिमा भिमसेनदास प्रधान निकट मानिन्छन् । तेस्रो धारका प्रतिभाशाली युवा नेताहरु वर्तमान स्वास्थ्यमन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थन पनि सुसनले प्राप्त गरेका छन् । राजधानीमा बसोबास गर्ने बहुसंख्यक युवाहरु अहिले धुलो, धुवाँ तथा सबै खाले प्रदुषणरहित सुन्दर राजधानी शहरको परिकल्पना गरिरहेका छन् । उनीहरुको यस्तो परिकल्पनालाई सार्थक रुप दिने क्षमता आफूमा रहेको सुसन बताउँछन् ।  व्यवसायीक दक्षता र विगतको कार्य अनुभवले पनि छोटो समयमा नै राजधानीलाई समृद्ध तथा सुन्दर बनाउने ठोस कार्ययोजना आफुसँग रहेको सुसनले बताएका छन् । सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय सुसन धेरै युवाहरुको रोलमोडल बन्न सफल भइसकेका छन् । 

युवाहरुको साथसँगै ठूलाबडाहरुको आर्शिवाद सहित आफू चुनावी मैदानमा होमिएको बताउने मृदुभाषी सुसन १९ देखि ३८ वर्ष सम्मका युवाले यस पटक स्थानीय निकायको निर्वाचनमा पहिलो पटक मतदान गर्ने र तिनको संख्या ४२ प्रतिशत रहेकोले आफनो उम्मेदवारी हरेक दृष्टिकोणले अर्थपूर्ण रहेको बताउनुहुन्छ ।   
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top