युवा निर्माण व्यवसायीहरुको भूमिकाको प्रशंसा


युवा निर्माण व्यवसायीहरुको भूमिकाको प्रशंसा

०९ अप्रिल, २०१७ काठमाडौं ।

शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउन युवा निर्माण व्यवसायीहरुले खेलिरहेको भूमिकाको प्रशंसा गर्नु भएको छ । नेपाली युवा निर्माण व्यवसायी समुदायको तेस्रो साधारण सभालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै सचिव शर्माले मुलुक पुर्ननिर्माण तथा नव-निर्माणको चरणबाट गुज्रिरहेको वर्तमान अवस्थामा युवा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण भएको बताउनु भएको हो । 

“राजनीतिक अस्थिरता तथा विकास निर्माणका विषयमा दलहरुको स्पष्ट धारणा नभएका कारण नै नेपालको निर्माण क्षेत्र पछि परेको हो” सचिव शर्माले भन्नुभयो । सरोकारवाला संस्थाहरु बीचको समन्वय अभाव र व्यवसायीहरुले आफनो क्षमता विस्तार नगर्दा निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन नसकेको शर्माको भनाइ थियो । 

नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जीपछिरिङ लामा शेर्पाले विकास निर्माणको सवालमा सबै दलहरुले साझा धारणा ल्याउनु अत्यन्त जरुरी भएको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अर्का पूर्व अध्यक्ष रमेश शर्माले युवा निर्माण व्यवसायीहरुको प्रगतिले सबै व्यवसायीलाई मोहित बनाएको बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले युवाहरुको नवीनतम सोचलाई सार्थक रुप दिन सरकारले सहयोगी भूमिका खेल्नुपर्ने विचार राख्नुभयो । 

एशियाली विकास बैंकका उपाध्यक्ष डाक्टर विन्दुनाथ लोहनीले युवा निर्माण व्यवसायीहरुलाई सबल बनाउने गरी राज्यले नीति नियम बनाउनु पर्ने धारणा राख्नुभयो । 

यसैबीच नेपाली युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष विरेन्द्रराज पाण्डे र नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवालबीच विकास निर्माण कार्यमा हुने गोष्ठीमा सहकार्य गर्ने हिसाबले एक सम्झौता भएको छ । सम्झौतापछि परिसंघका उपाध्यक्ष अग्रवालले विकास निर्माणको काममा गुणस्चरले सधै प्राथमिकता पाउनु पर्ने बताउनुभयो । 

नेपाली युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष विरेन्द्रराज पाण्डेले छोटो समयमै आफनो संस्था राष्ट्रिय पहिचना बनाउन सफल भएको भन्दै आगामी दिनमा अझ ठोस कार्यक्रमहरु सहित अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top