सरस्वती, शान्ता र मनिताको अपिल


सरस्वती, शान्ता र मनिताको अपिल

०८ अप्रिल, २०१७ काठमाडौं । 

सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरेले एक अपिल जारी गरेर हिसिला यमीले दिएको देशद्रोही अभिव्यक्ति सम्बन्धमा थप टिप्पणी गरेका छन् । 

अपिलमा भनिएको छ– ‘देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न सकिने कुनै तथ्यगत आधार देखिएको छैन । सामाजिक संजालमा आएका असामाजिक टिप्पणीलाई आधार बनाएर तथा त्यसको आड लिएर देशद्रोही अभिव्यक्तिको ढाकछोप हुन सक्दैन । यद्यपि हिसिलाले माफी माग्नुलाई भने हामीले ठिकै ठानेका छौं ।’ 

हिसिलाले ‘यो देशलाई खारेज गर’ भनी नारा लगाएपछि सरस्वती, शान्ता, मनिता लगायतले ‘हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउ’ भनी संगठित अभियान चलाएका थिए । फलस्वरुप अभिव्यक्ति दिएको भोलिपल्ट साँझ हिसिलाले आफ्नो अभिव्यक्तिप्रति माफ मागेकी थिइन् ।

अपिल जारी गर्ने सरस्वती सुब्बा राष्ट्रिय भूमि अधिकार मञ्चकी महासचिव हुन् भने शान्ता चौधरी पूर्व सभासद तथा एमाले नेतृ हुन् । त्यसैगरी मनिता घिमिरे लेखिका एवं सुनसरी कांग्रेसकी नेतृ हुन् ।

हिसिलाको अभिव्यक्ति विरुद्ध सामाजिक संजालमा कडा विरोध गरिएको थियो र लाखौंले विरोधमा लेखेका थिए । त्यस क्रममा कतिपयले हिसिलालाई असामाजिक र अमर्यादिन गाली समेत गरेका थिए । त्यस्तो असामाजिक गालीलाई आधार बनाएर हिसिलाप्रति सहानुभुति जगाउने र देशद्रोही अभिव्यक्तिको ढाकछोप गर्ने प्रयास भएपछि सरस्वती शान्ता र मनिताले संयुक्त अपिल जारी गरेका हुन् ।

हिसिलाको आलोचना हुनुमा हिसिला स्वयं जिम्मेवार रहेको पनि उनीहरुले प्रष्ट पारेका छन् । अपिलमा भनिएको छ – ‘हामीले अभियान चलाएकै कारणले हिसिलाप्रति अमर्यादित टिप्पणी आयो भनी हामीमाथि विभिन्न कोणबाट लगाउन खोजिएको आरोपको हामी घोर भतर््सना गर्दछौं । हिसिलाले दिनुभएको अभिव्यक्तिको प्रतिक्रिया स्वरुप आएको टिप्पणी, विरोध र आलोचनाका लागि उहाँ स्वयं जिम्मेवार हुनुहुन्छ । यसका लागि हामी तथा हामीले चलाएको अभियान जिम्मेवार हुन सक्दैन ।’

‘हामीले चलाएको अभियान र हिसिला यमी उपर गरिएको असामाजिक टिप्पणीको कुनै सम्बन्ध छैन’ अपिलमा भनिएको छ ‘हामीले देशभक्तिको पवित्र भावनाले ओतप्रोत भएर अभियान चलाएका हौं र जनविरोधपछि हिसिला यमी माफ माग्न बाध्य बन्नुभयो । हिसिला यमीप्रति असामाजिक टिप्पणी गर्नेहरु असामाजिक तत्व हुन् र यस्ता तत्वको देशभक्तिसँग कुनै सम्बन्ध हुन सक्दैन ।’ उनीहरुले त्यस्ता असामाजिक तत्वमाथि कारवाहीको माग समेत गरेका छन् ।

इन्टरनेटमा आधारित सामाजिक संजालको दुरुपयोग भइरहेको तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले दुरुपयोगको कार्य गर्नेलाई सरकारले कडा कारवाही गरोस् भनी जोडदार माग पनि गरेका छन् 

सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरे
सरस्वती सुब्बा– ९८४१८७७३०१, शान्ता चौधरी–९८५११७२७५७ र मनिता घिमिरे ९८४२०२५४२३

अपिलको पूर्ण पाठ :-

नयाँ शक्तिकी नेतृ तथा पूर्व मन्त्री हिसिला यमीले ‘यो देशलाई खारेज गर’ भनी दिएको देशद्रोही अभिव्यक्तिपछि सामाजिक संजालमा अशिष्ट, असामाजिक र अमर्यादित सामग्री पोष्ट गर्ने, कमेन्ट गर्ने लगायतका गतिविधि बढिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

हिसिला यमीले ‘यो देशलाई खारेज गर’ भनी अभिव्यक्ति दिनु भएपछि हामी सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरे सहित धनराज गुरुङ, राजकुमार रेग्मी र देव लिम्बूले हिसिला यमीलाई गिरफ्तार गरी देशद्रोहमा कारवाही गराउन माग गर्ने अभियान थालनी गरेका थियौं । हामीले देशभक्तिको पवित्र भावनाले ओतप्रोत भएर अभियान चलाएका हौं र जनविरोधपछि हिसिला यमी माफ माग्न बाध्य बन्नुभयो । हिसिला यमीप्रति असामाजिक टिप्पणी गर्नेहरु असामाजिक तत्व हुन् र यस्ता तत्वको देशभक्तिसँग कुनै सम्बन्ध हुन सक्दैन ।

सामाजिक संजाललाई अरुको चरित्र हत्या गर्ने, अरुको सामाजिक प्रतिष्ठामा चोट पुराउने कार्यका लागि दुरुपयोग गर्ने प्रवृत्ति निकै ब्यापक भइरहेको छ । खासगरी महिलाको चरित्र हत्या गर्न तथा प्रतिष्ठा गिराउन सामाजिक संजालको दुरुपयोग भइरहेको तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं । यस्तो कार्य गर्नेलाई सरकारले कडा कारवाही गरोस् भनी जोडदार माग गर्दछौं । 

देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको हो भनी मान्न सकिने कुनै तथ्यगत आधार देखिएको छैन । सामाजिक संजालमा आएका असामाजिक टिप्पणीलाई आधार बनाएर तथा त्यसको आड लिएर देशद्रोही अभिव्यक्तिको ढाकछोप हुन सक्दैन । यद्यपि हिसिलाले माफी माग्नुलाई भने हामीले ठिकै ठानेका छौं । 

हामीले अभियान चलाएकै कारणले हिसिलाप्रति अमर्यादित टिप्पणी आयो भनी हामीमाथि विभिन्न कोणबाट लगाउन खोजिएको आरोपको हामी घोर भतर््सना गर्दछौं । हिसिलाले दिनुभएको अभिव्यक्तिको प्रतिक्रियास्वरुप आएको टिप्पणी, विरोध र आलोचनाका लागि उहाँ स्वयं जिम्मेवार हुनुहुन्छ । यसका लागि हामी तथा हामीले चलाएको अभियान जिम्मेवार हुन सक्दैन ।

उहाँ उपर गरिएको अमर्यादित टिप्पणीको विरोध गर्दै हामी पूर्ण सहानुभुति व्यक्त गर्दछौं र दोषी उपर कारवाहीको माग गर्दछौं । यसका साथै सामाजिक संजाललाई मर्यादित बनाउन सबैको योगदान आवश्यक रहेकोतर्फ पनि सबैको ध्यानाकर्षण गराउँदछौं ।
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top