मधेशी मोर्चाले संसदको बैठक बहिष्कार


मधेशी मोर्चाले संसदको बैठक बहिष्कार

२० मार्च, २०१७
काठमाडौं । आफूहरुले राखेको माग पुरा नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि संसदको बैठक बहिष्कार गरेको छ । आज संसदको बैठक शुरुभएलगत्तै मोर्चाले बैठक बहिष्कार गरेको हो । मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले तराई–मधेसमा केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाका बारेमा छानबिन समिति गठन गर्न माग गर्दै अन्यथा संसदको बैठक सूचारु हुन नदिनेमा जोड दिएका हुन् ।

संसदमा बोल्दै उहाँले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनका कारण मानवीय क्षति भएको आरोप लगाउनुभयो ।  संविधान संशोधनको सट्टा सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरेर मोर्चाको घाउमा नुन छर्कने काम गरेको आरोप लगाउँदै उनले भनिन् – “हामी सहमति र वार्तामार्फत समस्या समाधान गर्न चाहन्छौँ, हामी सहमति गरेर संविधानप्रति अपनत्व खोजिरहेकाबेला संशोधन प्रस्तावलाई राष्ट्रघाति भनेकोप्रति हाम्रो आपत्ति छ ।”

आफूहरु देशभित्रै अधिकार मागिरहेको भन्दै सांसद झाले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बसेको सरकारलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नका लागि पहल गरिदिन सभामुखलाई आग्रह गरिन्। त्यसको लगत्तै मोर्चासँग आबद्ध दलका नेताहरु नारा लगाउँदै बैठकबाट बाहिर निस्किएका थिए। आफूहरुले राखेको विभिन्न मागलाई सरकार र सत्तारुढ दलले पुरा नगराएको भन्दै मधेशी मोर्चाले आन्दोलन गर्दै आइरहेको छ । यही क्रममा मोर्चाले आज संसदको बैठक बहिष्कार गरेको हो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top