संसारमा विरलै देखिने घटना नेपालमा, बहालवाला उपप्रधानमन्त्री मागपुरा गराउन भन्दै सडकमा


संसारमा विरलै देखिने घटना नेपालमा, बहालवाला उपप्रधानमन्त्री मागपुरा गराउन भन्दै सडकमा

२० मार्च, २०१७
काठमाडौं । नेपालीमा एउटा उखान छ, कहिँ नभएको जात्रा हाँडीगाउँमा । यो उखानलाई कहिँ नभएको जात्रा नेपालमा भनेर पनि पछिल्ला वर्षहरुमा प्रयोग गर्न थालिएको छ । हो साँच्चै यस्तै भएको छ नेपालमा । सत्तामै पुग्नका लागि जस्तोजुकै गठबन्धन पनि गर्न पछि नपर्ने राजनीतिक दल मध्येको एक राप्रपाबाट केहीदिन अघि सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका एकजना बहालवाला मन्त्री यतिबेला निर्वाचन आयोगका विरुद्ध सडकमा उत्रिएका छन् ।

उनी हुन् राप्रपा नेपालका नवनिर्वाचित अध्यक्ष कमल थापा । राप्रपा नेपाल र राप्रपाबीच एकता भएपछि राप्रपाको अध्यक्षमा निर्वाचित भएका कमल थापाले यतिबेला सत्ताको बागडोर त सम्हालेका छन् नै सँगै सडक आन्दोलन पनि तताएका छन् । यही क्रममा थापाले आज काठमाडौंको कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय घेराउ गर्ने टोलीको नेतृत्व गरेका छन् । बहालवाला उपप्रधानमन्त्रीसहितको टोली प्रतिपक्षीले जस्तो माग राखेर सडकमा धर्नामा निस्केपछि प्रहरी र धर्नाकारीबीच झडप पनि भएको छ ।

झडपका क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास समेत हानेको छ । पार्टीको विधानबाट  हिन्दु राष्ट्र र राजसंस्था हटाउने  निर्वाचन आयोगको निर्णयका विरुद्ध आयोगमा ज्ञापन बुझाउन र कार्यालय घेराउका क्रममा कान्तिपथ पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । यसअघि निर्वाचन आयोगले राप्रपालाई पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन निर्देशन दिएको थियो । संविधानमै हिन्दुराष्ट्र र राजसंस्थाको विषय उल्लेख नभएको भन्दै आयोगले यी दुई शब्द नहटाए राप्रपाको दल दर्ता नै नहुने चेतावनी दिएको थियो ।

काठमाडौंको रत्नपार्कस्थित  शान्ति बाटिकामा जम्मा भएर आयोग घेराउ गर्न अघि बढेका राप्रपाका कार्यकर्ता तथा नेताहरुलाई प्रहरीले जमल नजिकै रोक्ने क्रममा झडप भएको थियो । आक्रोशित भिडले प्रहरीलाई धकेलेर अघि बढ्न थालेपछि झडप भएको थियो । झण्डपमा परी केही राप्रपाका कार्यकर्ता र प्रहरी घाइते भएका छन् । घाइते हुनेमा राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री पशुपति शम्शेर राणालगायत छन् । सडकमा टायर बालेर विरोध गर्न थालेपछि उनीहरुबीच झडप भएको थियो । राप्रपा र प्रहरीको झडपका कारण काठमाडौंको जमल, रत्नपार्क क्षेत्र भएर चल्ने सयौं गाडी र हजारौं यात्रुहरु प्रभावित बनेका छन् ।

सत्तारुढ दलले नै आन्दोलनको नाममा सर्वसाधारणलाई दुःख दिने काम गरेकोमा जनता आक्रोशित छन् । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top