फास्ट ट्रयाक क्षेत्रका स्थानीयले गरे आन्दोलनको चेतावनी


फास्ट ट्रयाक क्षेत्रका स्थानीयले गरे आन्दोलनको चेतावनी

१८ मार्च, २०१७
काठमाडौं । राष्ट्रिय गौरवको योजना निजगढ–काठमाडौं फास्ट ट्रयाक दुर्तमार्ग निमार्ण भित्रपर्ने जग्गाको मुआब्जा चलनचल्ती अनुसार नतोकिएको भन्दै खोकना, सैंबु र बुंगमति सरोकार समितिले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले विभेदकारी नीति अवलम्बन गरेर फाष्ट्–ट्रयाक निमार्ण गर्न थालिएको भन्दै उचित मुआब्जा नतोकिए जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएको हो ।

सैंबु सरोकार समितिका अध्यक्ष माधव खड्काले चलनचल्ती अनुसारको जग्गाको मूल्य नतोकिएसम्म निमार्ण कार्यलाई अघि बढाउन नदिने चेतावनी दिएका छन् । अध्यक्ष खड्काले भने,‘बरु हामी रगत दिन तयार छौँ, कुनैपनि हालतमा माटो दिदैनौँ, सरकारले रसुवा जिल्ला टिमुरेको प्रतिआना जग्गाको मूल्य ६ लाख र राजधानी नजिकैको महानगरपालिका भित्रको जग्गाको मूल्य २ लाख यस्तो पनि हुन्छ ? हामी राष्ट्रिय गौरवको योजनाका विरोधि होईनौ, हामी साथ दिन तयार छौँ, तर हाम्रा मागहरू सरकारले यथासक्य पुरा गर्नतर्फ लागोस्, हामी सकारलाई सहयोग गछौँ ।’ 

त्यस्तै कार्यक्रममा खोकना जनसरोकार समूहका अध्यक्ष रविन्द्र महर्जनले प्रेस विज्ञप्ति वाचन गर्दै पीडित, गरिब र भूकम्प पीडितलाई झन अप्ठ्यारोमा पार्ने काम गरेको गुनासो पोखे ।  कार्यक्रममा बुङमति सरोकार समितिका सचिव इन्द्र तुलाधरले फास्ट–ट्रयाक अन्तर्गत पर्ने खोकना, संैबु र बुङमतीमा जग्गामात्रै नभएर रातो मछिन्द्रनाथ जात्रा र गुठीमा आश्रित ५० घरपरिवारको उठिबास हुने भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने,‘यस बाटोमा धार्मिक, साँस्कृतिक धरोहरसमेत छन्, अर्को पाटोबाट राजमार्ग निमार्ण गर्ने हो भने कृषकको जमिन पनि कम छ र यस्ता सम्पदा पनि कम छन्, जे होस् सरकारले जुन निर्णय गरेको छ, यसलाई कार्यान्वयन गर्ने कामको हामी विरोधी होइन, हाम्रा उचित माग सम्बोधन गर्नुपर्छ, यदि उचित मागहरू सम्बोधन नभएको खण्डमा हामी आन्दोलन गर्छौं ।’ 
  

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top