बाम एकता हुनु पर्छ :- गणेश उप्रेती ‘सुशील’पोलिटब्यूरो सदस्य


गणेश उप्रेती ‘सुशील’ नेकपा माओबादी केन्द्र मोरङका एक जुझारु, गतिशिल युवा नेता हुन् । ०५३ सालदेखि क्रान्तिकारी बिद्यार्थी हुँदै वामपन्थी राजनीतिमा हाम फालेका उप्रेती ०५६ सालमा जेल परेका थिए । इलाम, विराटनगर, राजविराजको जेलमा दुई बर्ष यातना भोगेका उनी पार्टीमा सुशिल नामले चिनिन्छन् । विभिन्न समयमा गरी दुई पटक मोरङको माओबादी आन्दोलनको नेतृत्व सम्हालिसकेका उनी हाल पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन् । पार्टीभित्रका कार्यकर्ताहरुलाई गम्भिर प्रशिक्षण दिन सक्ने उप्रेती विपक्षीलाई गतिलो प्रहार गरी भाषण गर्नेमा चर्चित छन् । पार्टीभित्र बौद्धिक एबं बैचारिक नेताका रुपमा स्थापित उनी रतुवामाई–५ का स्थायी बासिन्दा हुन् । पार्टी काम जस्तै उनी लेखनमा पनि उत्तिकै दख्खल राख्छन् । जनविद्रोह दैनिक पत्रिकाको सम्पादकसमेत भइसकेका उप्रेतीले आफ्नै एउटा कथा संग्रह प्रकाशित गरेका छन् । उनको अर्को कविता संग्रह प्रकाशनको तयारीमा छ । उनी साहित्यमा शशीकिरणको नामले परिचित रहेका छन् । उनै बहुप्रतिभाका धनी नेता उप्रेतीसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सरोज बस्नेतले गरेको कुराकानीको सारसंक्षेपः


नेपाली राजनीतिमा बाम एकता अहिले एउटा तरंग ल्याएको छ, यस बिषयलाई कसरी निहाल्नु भएको छ ?
 - अहिलेको नेपालको सन्दर्भमा एउटा अत्यन्तै ऐतिहासिक र सान्दर्भिक काम हुन गइरहेको छ, बाम एकताको । झण्डै ७० प्रतिशत भन्दा बढी बामपन्थी जनमत भएकोे नेपालमा अहिलेसम्म बामपन्थीहरु विभाजित भएर नेपालमा स्थिर राजनीति अगाडि आउन सकेन । नेपालमा गणतन्त्र आइसकेको छ । र, अब हामीले माओवादी वा कम्युनिष्टहरुको भाषामा जनवादी क्रान्तिको एउटा चरण पूरा गरिसकेका छौं । अब हामी समाजबादतर्फ अघि बढ्नु पर्ने राजनीतिक अनिवार्यता छ । यो हिसाबले हेर्दा खेरी सबै बामपन्थीहरु एक ठाउँमा उभिएपछिमात्र समाजवादी क्रान्ति सम्भव छ । यो कुरालाई एमाले र माओवादी दुबै साइडका नेता तथा कार्यकर्ता सम्पूर्णले आत्मसाथ गरिसकेपछि अहिले हामी सुरुमा तालमेल र निर्वाचनपछि पार्टी एकता गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने गरी काम अघि बढाइरहेका छौं । अहिले यो प्रक्रियामा हामी गम्भिर रुपमा लागेका छौं ।

बाम एकताको सम्भावना तपाईंले कत्तिको देख्नु भएको छ ? र, अहिले घोषणा भए अनुसार माओवादी, एमाले र नयाँशक्तिबीच साँच्चिकै एकीकरण सम्भव छ त ?
 - यो म मात्रै होइन, नेपालमा कम्युनिष्ट पार्टीको सदस्य जो आफूलाई भन्नु हुन्छ, एमाले होस् वा माओबादी त्यो अन्य बामपन्थीमा । जो समाजवादको सपना बुनेर कम्युनिष्ट पार्टीको सदस्य ग्रहण गरियो, त्यो सबैको खुशीको कुरा हो । बाम एकता हुनु पर्छ । सबै बामपन्थीहरु एक ठाउँमा उभिनु पर्छ । एउटै कम्युनिष्ट केन्द्र बनाउनु पर्छ । त्यो पार्टीको नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्नुपर्छ, शोषणको अन्त्य गरिनु पर्छ । उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंगहरुको सबै खालको उत्पीडनको अन्त्य गरिनु पर्छ भनेर चाँही धेरै अघिदेखि भन्दै आएका छौं । त्यो सपना साकार पार्न एक ठाउँमा उभिनु पर्छ भन्ने महशुस भएपछि अब मुख्य पार्टी एमाले र माओबादी एक ठाउँमा उभिने एउटा जमर्को गरेको छ । यसले नेपालको बामपन्थी आकाशमा राम्रो सम्भावना बोकेको छ । यो प्रक्रिया अब अघि बढ्छ ।

भर्खरै पोलिटव्यूरो समितिको बैठक सकेर आउनु भएको छ, बैठकमा के कस्ता बिषयमा छलफल गर्नु भयो त ?
 - बाम एकताको तालमेल सम्मेलन समिति बनिसकेपछि त्यसबिषयमा बिफ्रिङ गर्न बैठक बसेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’लगायतले आ–आफ्ना  कुरा राख्नु भयो । उहाँहरुले अब नेपालमा बामपन्थी तालमेलको विकल्प छैन भन्नुभयो । हामी अगाडि बढ्छौं, समाजबादको नेतृत्व गर्न कम्युनिष्ट केन्द्र बनाएर अघि बढ्नु पर्छ, यसमा कसैले पनि तलमाथी गर्नु हुँदैन । एमाले र माओबादी छुट्टाछुट्टै धारबाट आएपनि अब एक भएर जानुको कुनै विकल्प छैन भन्ने बैठकमा एकमत भयो । समाजबादको बाटोमा जान जसले बाधा उत्पन्न गराउँछ त्यो इतिहासमा खरानी बनेर जानेछ । तसर्थ वाम एकतालाई अब कसैले रोक्न सक्दैन ।

नेताहरु माथिल्लो तहमा मिलेपनि तल्लो तहका पार्टी कार्यकर्ता निराश भएको जस्तो देखियो नि ? यसलाई कसरी लिनु भएको छ ?
 - पहिलो कुरा त अहिलेसम्म तल्लो तहका कार्यकर्ताहरु निराश भएको मैले पाएको छैन । वाम एकताको कुराले तल्लो तहका कार्यकर्ताहरुमा निकै उत्साह भएको मैले पाएको छु । धेरै बर्षअघि बामपन्थी एकता हुनु पथ्र्याे भन्ने कुरा राख्नु भएको छ । बामपन्थी एकताले कम्युनिष्ट पार्टीका सदस्यहरु कोही पनि निराश हुने अवस्था पनि छैन र कोही निराश हुनु भएको पनि छैन ।

चुुनावमा तालमेल भइसकेको छ । चुनाव चिन्हले समस्या उत्पन्न गराउँछ भन्ने कत्तिको लाग्छ ?
 - बामपन्थी तालमेलको पक्षमा सुरुवातदेखि नै म लागिरहेको मान्छे हो । केपी ओली सरकारको पालामा पनि  यो ढाल्नु हुँदैन, अब यहाँबाटै वाम धु्रविकरण गर्नु पर्छ भन्ने मान्छे म पनि हुँ । त्यसैकारण यो चुनावमा एउटै चुनाव चिन्ह लिएर जाँदा राम्रो हुन्थ्यो भन्ने हामी सबैलाई लागेको थियो । तर, पार्टी एकीकरण भई नसकेको अवस्थाका कारण  निर्वाचन आयोगमा भोली कानूनी जटिलता उत्पन्न हुन्छ भनेर त्यो हुन नसकेको हो । तर, एमाले सूर्य र माओबादी गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हमा उठेपनि त्यहाँ कसैले पनि घातअन्तरघात गर्ने छैन । किन की भोली एमाले र माओबादी एक हुँदैछन् । एमालेलाई माओबादी र माओबादीले एमाले भनेर हराउने खेल हुने छैन जस्तो लाग्छ ।  तसर्थ चुनाव चिन्ह कै आधारमा समस्या उत्पन्न हुन्छ भन्नेमा मलाई विश्वास छैन । किनकी भोली एमाले र माओबादीबीच एकता हुने प्रक्रियामा छन् ।

तपाईले भन्न खोज्नु भएको एमालेले गोलाकारभित्रको हँसिया हथौडा र माओबादीले सूर्यमा भोट हाल्छन् ?
 - हो, भोली हामी एउटै बन्न लागेका छौं । कानुनी जटिलताका कारणमात्र अहिले एउटै चुनाव चिन्हमा चुनाव लड्न समस्या भएको हो ।  एमालेले गोलाकारभित्रको हँसिया हथौडा र माओबादीले सूर्यमा भोट इमान्दार भएर हाल्नु पर्छ । गोलाकारभित्रको हँसिया हथौडा पनि हाम्रै हो, सूर्य पनि हाम्रै भन्ने भन्ने आम कार्यकर्ताहरुमा भावनाको विकास गर्नु अतिआवश्यक छ ।

सरकारबाट माओबादीका मन्त्रीहरुलाई हटाउने कुरा आइरहेको छ । यस बिषयमा के भन्न चाहनुहुन्छ ?
- हामीले भनेको त चुनाव यही सरकारले गर्ने हो, हामी देउवा सरकारलाई समर्थन दिइरहन्छौँ । तर, पार्टी एकता गर्ने वा पार्टीमा तालमेल गर्ने भनेको त फरक कुरा हो नि ! उहाँहरुले पनि त जोजोसँग मिल्छ, तीतीहरुसँग तालमेल गरेकै हो । हामीले जोसँग मिल्छ त्योसँग गरेका हौं । यो सरकारबाट हट्ने र हटाउने समय होइन । यसमा निर्वाचन आयोगले आचारसंहिताले नदिने कुरा नि बताइसकेको छ ।

यो चुनावमा एमाले र माओवादीको तालमेल जनताले रुचाउलान त ?
 - एमाले र माओबादी मिलिसकेपछि बहुमतको सरकार बनाउन अब कसैले रोक्न सक्दैन । ७० प्रतिशतभन्दा बढी जनमत बामपन्थीहरुमा छ । स्थिर सरकारका लागि बामपन्थीहरुलाई आम जनताहरुले अत्याधिक मत दिएर जिताउनु हुनेछ ।  हामीलाई के विश्वास छ भने हामीले नेपाली समाजमा जुन संविधान बनायौँ, त्यो संविधान हाम्रै नेतृत्वमा लागु गर्ने गरी जनमत हाम्रो पक्षमा आउँछ भन्ने हामीलाई लाग्छ ।

तपाईलाई माओबादीले मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको सदस्यमा सर्वसम्मत नाम सिफारिस गरेको छ । टिकट पाउने सम्भावना कतिको छ ?
–यस्तो हो, टिकट भने आवश्यकता अनुसार पाउने कुरा हुन्छ । एमाले र माओबादीले छुट्टाछुट्टै लड्दा साविक मोरङ क्षेत्र नं. १ बाट चुनाव लडिसकेको मान्छे हो, म । एमालेका साथीहरुसँग छलफल गरेर टिकटको छिनोफानो हुन्छ । जो उठेपनि ठूलो कुरा भएन, एमाले र माओबादीमध्ये एक जना ब्यक्ति उठ्ने कुरा हो ।  जो उठेपनि हाम्रै ब्यक्ति उठ्नु हुनेछ ।  एमाले र माओबादीले इमान्दार भएर शतप्रतिशत सहयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो ।

तपाईलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेपनि मोरङ क्षेत्र नं. २ (क) तर्फबाट प्रदेश सभाको उम्मेद्वार बनाउने माओबादी बृत्तमा चर्चा छ नि ?
–हिजो प्रतिनिधि सभाको सदस्यमा उम्मेद्वार बनिसकेका कारण मेरो चर्चा हुनु स्वभाविक हो । पार्टीले जुन जिम्मेवारी दिन्छ, त्यो हामीले इमान्दार भएर पूरा गर्नु पर्छ । एमाले र माओबादीबीच बसेर छलफल गरेर उम्मेद्वारको टुंगो लगाइन्छ ।

मोरङमा एमाले र माओबादीबीच कसरी उम्मेद्वारको बाँडफाँड गर्ने बिषयमा छलफल भइरहेको छ त ?
–मोरङ जिल्लामा दुई प्रतिनिधिसभामा माओबादीतर्फ उम्मेद्वार बन्ने र प्रदेशमा ४÷५ जना उम्मेद्वार बन्ने बिषयमा करिब करिब टुंगो लागेको अवस्था छ । त्यसबिषयमा चाँडै नै निर्णय हुनेछ ।

अन्त्यमा केही भन्नु छ की ?
–अहिले ऐतिहासिक तालमेल गरेका छौं । विभिन्न कुराहरु आइरहेको छ । हिजो एमाले र माओवादी झगडा गरेर आएका पार्टी कसरी एक हुन सक्छन् भन्ने कुराहरु बाहिर आएका छन् । त्यसमा विचलित नभई अब त्यसलाई घर झगडा सम्झेर अब एक भएर अघि बढ्नु पर्छ ।  झगडालाई विर्सेर अब विगठन होइन संगठित हुनुको विकल्प पनि छैन । एमाले र माओबादीबीच सुमधुर सम्बन्ध विकास गर्नु पर्छ । अनिमात्र तालमेल र एकतालाई सफल बनाउन सक्छौं । हामी स्थिर दुर्ई तिहाईको सरकार बनाउन सक्छौं । त्यसैकारण अब  समाजवादी क्रान्तिका लागि एमाले र माओबादी मिलेर अगाडि बढ्नुको विकल्प पनि छैन ।  

 

 

 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top