पाटेबाघ संरक्षण र गणना गर्ने तरिका :- प्रदीप खनाल


नेपालको कुल भूभागको २३.३९ प्रतिशत क्षेत्रफ संरक्षित क्षेत्रहरुले ओगटेको छ । नेपालमा रहेका विभिन्न भौगोलिक क्षेत्रका वनस्पति, वन्यजन्तु पारिस्थितिकीय प्रणालीको सम्बद्र्धन, भूदृश्यको संरक्षण एवं व्यवस्थापन गर्ने उद्येश्यले संरक्षित क्षेत्र प्रणाली अन्र्तगत राष्ट्रिय निकुञ्ज १०, वन्यजन्तु आरक्ष ३, शिकार आरक्षण १, संरक्षण क्षेत्र ६ र मध्यवर्ती क्षेत्र  १३ वटा रहेका छन् । ती संरक्षित क्षेत्रहरुले तराईदेखि हिमाल सम्मको ११८ प्रकारका पारिस्थितिकीय प्रणालीहरु मध्ये ८० भन्दा बढी पारिस्थितिकीय प्रणालीहरुलाई समेटेका छन् ।

संरक्षित क्षेत्र तथा वनयजन्तुविद् श्री प्रदीप खनालको जन्म अर्घाखाँची जिल्ला केरुङगा गाविस वडा नम्बर १ मा पिता श्री कृष्णप्रसाद खनाल र माता श्रीमति पुष्पा खनालको कोखबाट मिति २०३१–०१–२२ मा भएको हो । काठमाडौं विश्वविद्यालयबाट वातावरण विज्ञान र जीव विज्ञानमा स्नातक र सोही विश्वविद्यालयबाट स्नातकोत्तर गर्नु भएका खनाल नेपालको तराई भू–परिधी क्षेत्रमा विगत १५ वर्ष देखि अनवरत रुपमा वन्यजन्तु संरक्षण सम्बन्धी कामहरु गर्दै आउनु भएको छ । श्री प्रदीप खनालले नेपालको संरक्षित क्षेत्रमा प्रमुख रुपले काम गर्ने संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभग अन्र्तगतको तराई भू परिधि कार्यक्रममा आफनो जीवनको अमूल्य डेढ दशक बिताउनु भएको छ ।

कामको शिलशिलामा उत्कृष्ट काम गरे बापत नेपाल सरकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, डब्लु डब्लु एफ अमेरिका, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष साथै चितवन राष्ट्रिय निकुञ्जबाट विभिन्न समयमा पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएको छ ।

विभिन्न समयमा स्विजरल्याण्ड, अमेरिका, मलेसिया, थाइल्याण्ड, भारत, कम्बोडियबाट वन्यजन्तु र त्यसको संरक्षण सम्बन्धी तालिम प्राप्त खनाल नेपालमा पाटेबाघ र कृष्णसारको देशकै विज्ञको रुपमा चिनिनुुहुन्छ । श्री खनालले नेपालको तराई भू भागमा पाइने पाटेबाघ र यसको आहार प्रजाति, एक सिंङगे गैडा, जंगली हात्ती, कृष्णसार, डल्फिन, घडियाल, गोही लगायतको जीवमा अनुसन्धान तथा वास्थान व्यवस्थापनमा निकै अनुकरणीय कार्य गर्नु भएको छ । साथै मानव वन्यजन्तु द्धन्द्ध न्यूनिकरण, संरक्षण क्षेत्रको बासिन्दाको जीवीकोपार्जन, वन्यजन्तु गस्ती, वन्यजन्तुमा आधुनिक उपकरणहरुको प्रयोग साथै माथि उल्लेखित विधाहरुमा नेपाल सरकारका कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा र यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरुलाई  तत् सम्बन्धी सीप हस्तान्तरण गर्न प्रमुख भूमिका निर्वाह गर्नु भएको छ ।

हाल उच्च शिक्षाको सिलसिलामा अमेरिकाको नर्थ टेक्सास विश्वविद्यालयमा वन्यजन्तु सम्बन्धी विद्यावारिधी गरिरहनु भएका खनालसँग हाम्रा संवाददाताले पाटेबाघ तथा यसको आहार प्रजातिको गणनाको बारेमा गरेको संक्षिप्त कुराकानी :-

पाटेबाघ संरक्षण गर्नुको मुख्य कारण के हो ?
- पाटेबाघ परिस्थितिकीय प्रणालिको सूचक हो । यदि कुनै जंगलमा पाटेबाघ छ भने त्यो जंगल स्वस्थ्य छ भन्ने जनाउँछ । पाटेबाघ आजभन्दा करीब सय वर्ष अगाडि एक लाखको संख्यामा थिए भने अहिले जम्म ३९०० को हाराहारीमा मात्र पाइन्छ । पाटेबाघ पाइने १४ देश मध्ये उत्तर कोरिया र म्यान्मारमा यसको संख्या कति छ भन्ने यकीन छैन । नेपालले सन् २००९ देखि ४–४ वर्षमा देशव्यापी गणना गर्दै आएको छ । सन् २०१३ को गणना नतिजा अनुसार नेपालमा १ सय ९८ वटा वयस्क पाटेबाघ रहेको अनुमान छ । सो संख्या सन् २००९ को अनुपातमा ६३ प्रतिशतले बृद्धि हो । 

पाटेबाघ कसरी गणना गरिन्छ ?
- पाटेबाघ गणना गर्ने विभिन्न तरिकाहरु छन् । अहिलको भरपर्दो र विश्वसनीय तरिका भनेको पाटेबाघ पाइने वासस्थानको पहिचान गरी पाटेबाघ हिड्न सक्ने संम्भाव्य बाटोको छेउछाउमा स्वचालित क्यामेराहरु राखिन्छन् । यसरी क्यामेरा राख्दा हरेका २ वर्गा किलो मिटर क्षेत्रमा एक जोडा क्यामेरा बाटोको किनारमा जडान गरिन्छ । एक जोडी क्यामेरा बाटोको किनारामा जडान गर्नुको कारण क्यामेराले बाघको दुवै पाटा कैद गरोस् भन्ने हो । 

पाटे बाघको गणना कसरी यकिन गरिन्छ ?
- स्वचालित क्यामेराहरु १५ दिन–रात सोही स्थानमा राखेपछि त्यसमा भएका फोटोहरु एक एक गरेर विज्ञहरुले अनुसन्धान गर्दछन् । फोटोहरुमा पाटेबाघ लगायत थुप्रै जीवजन्तु परेका हुन्छन् । स्वचालित क्यामेराले बाटोबाट जो हिड्यो त्यसको फोटो खिच्दछ । त्यसकारण पहिला पाटेबाघको मात्र फोटो छुट्टयाउनु पर्दछ । १५ दिननै क्यामेरा एकै स्थानमा राख्नुको कारण चाँही हाम्रो देशको जस्तो पाटेबाघको बासस्थान भएको ठाउँमा १५ दिनमा कम्तीमा एक चोटी पाटेबाघ त्यो ठाउँबाट हिड्छ भन्ने अनुमान हो । पाटेबाघको फोटो छुट्टयाइसकेपछि पाटेबाघको पाटाहरुको विश्लेषण गर्नुपर्दछ । जसरी एउटा मानिसको अंगुठाको छाप अर्को मानिससँग मिल्दैन त्यसैगरी पाटेबाघको पाटाहरु पनि बाघ पिच्छे फरक हुन्छ । फोटोहरुको विश्लेषण गरेर कुन बासस्थानमा कति पाटेबाघ छन् भन्ने यकिन गरिन्छ । 

पाटे बाघको गणना गर्दा यसको आहार प्रजातिको गणना किन र कसरी गरिन्छ ? 
- पाटेबाघ र यसको आहार प्रजातिको सम्बन्ध भनेको मानिस र उसको खाना जस्तै हो । आहार प्रशस्त छ भने पाटेबाघको संख्या पनि बढ्न सक्ने सम्भावना हुन्छ । एक हप्तामा एउटा वयस्क बाघलाई एउट वयस्य चित्तल बराबरको मासु चाहिन्छ । यदि बघिनी बच्चा सहितको छ भने त्यही अनुपातको थप मासु चाहिन्छ । त्यसकारण पाटेबाघको संख्या बढाउन त्यस वासस्थानमा कति आहार प्रजाति छन् भन्ने निक्र्यौल गर्नु अत्यावश्यक छ । पाटेबाघको आहारप्रजातिको गणना चाहिँ ष्लिभ तचबलकभअत –(लाइन ट्रान्जेट) पद्धतिबाट गरिन्छ । यस पद्धतिबाट वासस्थानमा भएका आहार प्रजातिहरुको संख्या आकलन गर्न सकिन्छ । 

पाटे बाघको र यसको आहार प्रजातिको स्थिति भविष्यमा कस्तो देख्नु हुन्छ ?
- पाटे बाघ संरक्षणमा थुप्रै चुनौतिहरु छन् । नेपालमा पाटेबाघ चुरेभावर र तराईको जंगलमा पाइन्छ । त्यसमा पनि जहाँ संरक्षित क्षेत्र तथा मध्यावर्ती क्षेत्र छन् त्यहाँ यसको वासस्थान राम्रो छ । संरक्षित क्षेत्र भन्दा बाहिर मानववस्ती विस्तार र प्राकृतिक स्रोतमा चापले गर्दा वासस्थान विनाश हुँदैै जाने क्रम बढेको छ । यसलाई मध्य नजर गरेर नेपाल सरकारले वासस्थान नटुटोस् भनेर विभिन्न कार्यक्रम संचालन गरेको छ । जसमा स्थानीय बासिन्दको आय आर्जनदेखि लिएर वन्यजन्तु अनुगमन, वनको व्यवस्थापन सम्म पर्दछन् । सन् २०१० को सेन्ट पिटरवर्ग बाघ सम्मेलनमा नेपालले पनि हस्ताक्षर गरेको छ । जसमा सन् २०२२ सम्म बाघको संख्या दुई गुणा बढाउने भन्ने छ । नेपालमा सन् २००९ मा पाटेबाघको संख्या १२५ अनुमान गरिएको थियो । त्यो संख्या बढेर सन् २०१३ मा १९८ पुग्यो । यही बिचमा सन् २०१० मा पाटेबाघको वासस्थान वृद्धिको लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको छ र त्यही बाघको साथै आहार प्रजातिको पनि वृद्धि हुँदै गएको छ । सेन्ट पिटरवर्गमा हस्ताक्षर गर्ने राष्ट्रमध्ये पाटे बाघको संख्या दोब्बर पु¥याउन सफल हुनसक्ने प्रमुख राष्ट्रमा नेपाल पर्दछ । त्यसकारण जनसहभागिता मूलक संरक्षण अभियान र नेपाल सरकारले पाटेबाघ संरक्षणमा दिएको प्राथमिकताको आधारमा नेपालमा पाटेबाघको स्थिति राम्रो हुन्छ भन्न सकिन्छ । सन् २०१८–१९ को गणनाले नेपालको स्थिति दर्शाउने नै छ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top